काठमाडौँ । आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘पेन्सन पट्टा’ को दोस्रो गीत ‘ऐना हेरेर, कपाल कोरेर’ सार्वजनिक गरिएको छ। गीत आइतबार ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो।
प्रेम र मायाको भावनालाई केन्द्रमा राखेर तयार पारिएको गीतमा सुरज तामुको शब्द तथा संगीत रहेको छ। गीतमा सुरज तामु र शान्ति श्री परियारको स्वर सुन्न सकिन्छ भने संगीत संयोजन मनोज थापा मगरले गरेका छन्।
सार्वजनिक गरिएको गीतको भिडियोमा अभिनेता मनोज गुरुङ र अभिनेत्री अनुशा राईको अभिनय देख्न सकिन्छ। निर्माण पक्षका अनुसार चलचित्रले बाहिरबाट आकर्षक देखिने लाहुरे जीवनको भित्री पाटो उजागर गर्ने प्रयास गरेको छ। पेन्सन, प्रतिष्ठा र सुखसुविधासँग जोडिएको लाहुरे जीवनभित्र रहेका पारिवारिक सम्बन्ध, प्रेम, त्याग, विछोड तथा भावनात्मक संघर्षलाई चलचित्रको मुख्य कथावस्तु बनाइएको छ।
चलचित्रले लाहुरे समुदायको जीवनशैलीसँगै सामाजिक संरचना, पारिवारिक सम्बन्ध र मानवीय संवेदनाका विविध आयामलाई प्रस्तुत गर्ने निर्माण पक्षको दाबी छ। यसअघि चलचित्रको पोस्टर, टिजर, पहिलो गीत र ट्रेलर सार्वजनिक भइसकेका छन्।
माओत्से गुरुङ निर्देशित चलचित्रमा दयाहाङ राई, गौमाया गुरुङ, विल्सन विक्रम राई, बुद्धि तामाङ, पशुपति राई, विश्वास गुरुङ, माया गुरुङ, मनोज गुरुङ तथा अनुशा राईलगायत कलाकारको अभिनय रहेको छ।
मीन कोन्मे गुरुङ (सिकलेस), भोजबहादुर गुरुङ (यूके), माया गुरुङ र सपना गुरुङ निर्माता रहेको चलचित्रमा डीबी गुरुङ प्रोडक्सन म्यानेजरका रूपमा रहेका छन्। चलचित्रको छायांकन सुशन प्रजापतिले गरेका हुन् भने कास्टिङ निर्देशन सुरज तामुले गरेका छन्।
चलचित्रको संगीत मनोज थापा मगर, शिव बराइली र सुरज तामुले तयार पारेका छन्। निमेश श्रेष्ठ र केर डी कोइन्च लिनुचले संयुक्त रूपमा सम्पादन गरेका छन् भने तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक रहेका छन्। चलचित्रको सहलेखन सुरज तामु र केर डी कोइन्च लिनुचले गरेका हुन्। राजेन्द्र मोक्तान कलरिस्ट तथा राजु याकचा कला निर्देशकका रूपमा आबद्ध छन्।
केन्द्रीय चलचित्र जाँच समितिबाट युनिभर्सल (यू) प्रमाणपत्र प्राप्त गरिसकेको ‘पेन्सन पट्टा’ सबै उमेर समूहका दर्शकले हेर्न मिल्नेछ। चलचित्र भदौ २६ गते शुक्रबारदेखि देशभर प्रदर्शनमा आउनेछ।





Comment