काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ठूलो संख्यामा स्वदेशी तथा विदेशी पर्यटक प्रभावित भएका छन्।
पर्यटक प्रहरीले तयार पारेको पछिल्लो तथ्यांकअनुसार सोमबार साँझ ६:३० बजेसम्म ७४७ जना पर्यटक सम्पर्कविहीन रहेका छन्।
सम्पर्कविहीन हुनेमध्ये ५८३ जना विदेशी र १६४ जना नेपाली नागरिक रहेका छन्।
विदेशीतर्फ सबैभन्दा बढी १८३ जना भारतीय नागरिक सम्पर्कविहीन छन्। त्यस्तै, ६४ जना अमेरिकी, ५५ जना मलेसियन, ५४ जना युक्रेनी र ३५ जना अष्ट्रेलियन नागरिक पनि सम्पर्कविहीन रहेको तथ्यांकमा उल्लेख छ।
यसैगरी क्यानडाका ३०, लाटवियाका ३३, चीनका २५, बेलायतका ३३ र जर्मनीका ८ जना पर्यटक बेपत्ताको सूचीमा छन्।
सम्पर्कविहीन हुनेमा ३८९ पुरुष, ३५६ महिला र २ जना अन्य रहेका छन्।
यसबीच बाढी प्रभावित क्षेत्रमा फसेका २९९ जनाको सुरक्षाकर्मी तथा उद्धार टोलीले सफल उद्धार गरेको छ। उद्धार गरिएकामध्ये २५१ पुरुष र ४८ महिला रहेका छन्। उद्धार गरिएकाहरूमा भारत, चीन, जर्मनी र रुसलगायत विभिन्न देशका नागरिक छन्।
त्यस्तै, ५ जना पर्यटक सम्पर्कमा आएका छन्, जसमा २ पुरुष, २ महिला र १ जना अन्य रहेका छन्।
सम्पर्कविहीन पर्यटकहरूको खोजी तथा उद्धारका लागि विभिन्न ट्रेकिङ एजेन्सीहरूसँग समन्वय गरी अभियान तीव्र पारिएको पर्यटक प्रहरीले जनाएको छ।
पर्यटक प्रहरीका अनुसार ट्रेकर्स सोसाइटी, रिच ट्रेक्स, सम्राट ट्रेक्स र हिमालयन ग्लेसियर लगायतका संस्थासँगको समन्वयमा प्रभावित क्षेत्रमा खोजी कार्य जारी छ।
बेपत्ता व्यक्तिबारे थप जानकारी लिन वा कुनै जानकारी उपलब्ध गराउन पर्यटक प्रहरीले [email protected] मा सम्पर्क गर्न अनुरोध गरेको छ।
भोटेकोशीमा आएको बाढीले रसुवाको पर्यटन क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। घटनापछि ठूलो संख्यामा स्वदेशी तथा विदेशी पर्यटक प्रभावित भएपछि यस घटनाले अन्तर्राष्ट्रिय स्तरमै समेत ध्यानाकर्षण गरेको छ।






Comment