काठमाडौँ । पोखरा भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाहको भिडियो खिचेको भन्दै सुरक्षार्थ खटिएको नेपाली सेनाको टोलीले एक पत्रकारको क्यामेराबाट खिचिएका दृश्य डिलिट गर्न लगाएको घटना सार्वजनिक भएको छ।
मुस्ताङ भ्रमण सकेर आइतबार पोखरा फर्किएका प्रधानमन्त्री शाह पोखरा–१४ स्थित मझेरी मन्जिल रिसोर्टमा बसेका बेला ‘मेरो साथी टीभी डटकम’का पत्रकार सुरेश सुनारले रिसोर्ट परिसरमा रहेका प्रधानमन्त्रीको भिडियो खिचेका थिए।
पत्रकार सुनारका अनुसार रिसोर्टको गेटबाट भिडियो खिच्न नदिएपछि उनले विजयपुर खोलापारिबाट रिसोर्ट परिसरमा रहेका प्रधानमन्त्री शाहको दृश्य आफ्नो क्यामेरामा कैद गरेका थिए। पारिपट्टिबाट भिडियो खिचिरहेको देखेपछि नेपाली सेनाको टोली गाडी लिएर आफू भएको स्थानमा आएको र प्रधानमन्त्रीको भ्रमण ‘निजी’ भएको भन्दै क्यामेरामा रहेका दृश्यहरू एक–एक गरी डिलिट गर्न लगाएको सुनारको भनाइ छ।
यसअघि पनि प्रधानमन्त्री शाह पोखरा हुँदै मुस्ताङ जाने क्रममा सुरक्षा व्यवस्था कडा पारिएको थियो। शुक्रबार परिवार, सचिवालय टोली तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेल ‘गनेस’सहित सडकमार्गबाट पोखरा पुगेका प्रधानमन्त्री शाह मुस्ताङ जाने क्रममा माछापुच्छ्रे गाउँपालिका–अस्तामस्थित अन्नपूर्ण इको भिलेज लजमा बसेका थिए।
त्यहाँ सञ्चारकर्मीलाई लजबाट करिब आधा किलोमिटर वरै रोकिएको तथा लजका कर्मचारीलाई समेत परिचयपत्रका आधारमा मात्र प्रवेश दिइएको बताइएको छ।
पत्रकारको क्यामेराबाट भिडियो हटाउन लगाइएको घटनाप्रति नेपाल पत्रकार महासंघ कास्कीले आपत्ति जनाएको छ। महासंघ कास्कीका अध्यक्ष माधव बरालले सार्वजनिक पदमा रहेका व्यक्तिको समाचार संकलन तथा रिपोर्टिङका क्रममा सेनाले पत्रकारको क्यामेराबाट भिडियो डिलिट गर्न लगाउनु प्रेस स्वतन्त्रता र लोकतान्त्रिक मूल्य–मान्यतामाथिको गम्भीर हस्तक्षेप भएको बताएका छन्।
यता जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी एवं प्रवक्ता चित्रांगत बरालले भने घटनाबारे आफूलाई पूर्ण जानकारी नभएको बताएका छन्। उनले सार्वजनिक स्थलमा भिडियो खिच्न प्रशासनले कुनै रोकटोक नगरेको स्पष्ट पारे।
घटनाले प्रधानमन्त्रीको निजी भ्रमणमा सुरक्षा व्यवस्थापन र पत्रकारको समाचार संकलनको अधिकारबीचको सीमाबारे पुनः बहस सिर्जना गरेको छ।





Comment