खाद्य कम्पनीको सातौं वार्षिकोत्सव: आजदेखि १९३ स्थानमा सुपथ मूल्य पसल सञ्चालन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आफ्नो सातौं वार्षिकोत्सवको अवसरमा आज (बिहीबार) देखि देशभर १९३ स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ। साथै, सिंहदरबार परिसरभित्र अत्याधुनिक नयाँ बिक्री कक्ष पनि सञ्चालनमा आएको छ।

आम उपभोक्तासम्म गुणस्तरीय खाद्य सामग्री सहज र सहुलियतपूर्ण रूपमा उपलब्ध गराउने उद्देश्यले कम्पनीले सेवा विस्तार गरेको हो। सिंहदरबारभित्र स्थापना गरिएको नयाँ बिक्री कक्षको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले आज औपचारिक उद्घाटन गरेकी छन्।

कम्पनीका अनुसार सिंहदरबारस्थित बिक्री कक्षबाट उपभोक्ताले कम्पनीका सम्पूर्ण आधिकारिक उत्पादनहरू सुपथ मूल्यमा खरिद गर्न सक्नेछन्। यहाँ चामल, दाल, खानेतेल, चिनी, नुनलगायत दैनिक उपभोग्य वस्तुसँगै चिनो, कागुनो, फापर र सिमीजस्ता स्थानीय तथा पौष्टिक खाद्यान्न पनि उपलब्ध हुनेछन्।

कम्पनीका सूचना अधिकारी माधव मिश्रले सिंहदरबार परिसरमा कार्यरत कर्मचारी तथा सेवा लिन आउने सर्वसाधारणलाई लक्षित गरी बिक्री कक्ष सञ्चालनमा ल्याइएको जानकारी दिए। उनका अनुसार यसले आवश्यक खाद्य सामग्री खरिद गर्न थप सहजता प्रदान गर्नेछ।

वार्षिकोत्सवकै अवसरमा कम्पनीले आजदेखि देशका ४४ जिल्लाका १९३ स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ। बजारमा बढ्दो महँगीका बीच उपभोक्तालाई राहत दिने उद्देश्यले यो अभियान सुरु गरिएको कम्पनीले जनाएको छ।

यी पसलहरूबाट दैनिक उपभोग्य सामग्री खरिद गर्ने उपभोक्ताले प्रतिकिलो तथा प्रतिलिटरमा ५ रुपैयाँसम्म छुट पाउने व्यवस्था गरिएको छ।

कम्पनीले आम नागरिकको दैनिक जीवनयापन सहज बनाउन, खाद्य सामग्रीको पहुँच विस्तार गर्न तथा आर्थिक भार कम गर्न सहुलियत योजना सञ्चालन गरिएको जनाएको छ। सुपथ र गुणस्तरीय खाद्य सामग्री उपलब्ध गराउँदै आएको कम्पनीको यो पहलबाट उपभोक्ता प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।