काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्ताहरूलाई सम्मान गरेको छ ।
कम्पनीको व्यवसाय विस्तार, उत्कृष्ट कार्यसम्पादन तथा बीमा सेवाको प्रवद्र्धनमा उल्लेखनीय योगदान पुर्याउने अभिकर्ताहरूलाई सम्मान गर्ने उद्देश्यले शुक्रबारदेखि आइतबारसम्म काठमाडौंको बुढानीलकण्ठस्थित लेमन ट्री प्रिमियरमा अभिकर्ता सम्मान कार्यक्रम आयोजना गरिएको हो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा देशभरबाट उत्कृष्ट कार्यसम्पादन गरेका अभिकर्ताहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा मिलियन डलर राउन्ड टेबल (MDRT) हासिल गर्न सफल अभिकर्ता, विभिन्न उपाधि प्राप्त अभिकर्ता, मेगा स्टार तथा वरिष्ठ एजेन्सी प्रबन्धकहरूलाई सम्मान गरिएको कम्पनीले जनाएको छ । उनीहरूलाई उत्कृष्ट कार्यसम्पादन, समर्पण तथा कम्पनीको व्यावसायिक वृद्धिमा पुर्याएको योगदानको कदरस्वरूप सम्मानपत्र तथा मायाको चिनो प्रदान गरिएको थियो ।
कार्यक्रममा प्रा. डा. भगवान कोइराला र डा. विष्णुप्रसाद रेग्मीले स्वास्थ्य, जीवन तथा पेसागत विकाससँग सम्बन्धित उत्प्रेरणामूलक विशेष प्रस्तुति दिएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृतले रिलायबल नेपाल लाइफको सफलताको प्रमुख आधार अभिकर्ताहरू रहेको बताए । उनले अभिकर्ताहरूको निरन्तर मेहनत, व्यावसायिक प्रतिबद्धता तथा ग्राहकप्रतिको उत्तरदायित्वको प्रशंसा गर्दै आगामी दिनमा पनि उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्तालाई प्रोत्साहन गर्न यस्ता सम्मान कार्यक्रमलाई निरन्तरता दिने बताए ।
कार्यक्रममा बीमा व्यवसाय विस्तारका सम्भावना, आगामी व्यावसायिक रणनीति तथा ग्राहकलाई गुणस्तरीय सेवा प्रदान गर्ने विषयमा समेत छलफल गरिएको थियो ।
त्यसैगरी सहभागी अभिकर्ताबीच अनुभव आदान–प्रदान तथा सफलताको यात्राबारे अन्तरक्रियात्मक सत्रसमेत सञ्चालन गरिएको कम्पनीले जनाएको छ ।





Comment