आज नागढुङ्गा सिस्ने खोला सुरुङमार्ग उद्घाटन गरिँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मुलुककै पहिलो व्यवस्थित यातायात सुरुङमार्गका रूपमा निर्माण गरिएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको आज औपचारिक उद्घाटन हुँदैछ। सुरुङमार्ग सञ्चालनमा आएसँगै काठमाडौं उपत्यकाको प्रवेश तथा बाहिरिने यात्रालाई थप सहज, सुरक्षित र छिटो बनाउने अपेक्षा गरिएको छ।

पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, नेपालका लागि जापानी राजदूत मायदा तोरु तथा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्षसहित उच्च सरकारी तथा प्राविधिक अधिकारीहरूको उपस्थितिमा सुरुङमार्ग उद्घाटन गर्न लागिएको हो।

निर्धारित कार्यक्रमअनुसार आज बिहान १०ः२५ बजे उद्घाटन गरिने सुरुङमार्गको औपचारिक शुभारम्भपछि निर्माण कम्पनीले आयोजना नेपाल सरकारलाई हस्तान्तरण गर्नेछ। उद्घाटन समारोहमा मन्त्री लम्साल, जापानी राजदूत र जाइकाका अध्यक्षले सुरुङभित्र सवारी चलाएर आवागमनको शुभारम्भ गर्ने कार्यक्रम रहेको छ।

प्रारम्भिक चरणमा एम्बुलेन्स, सुरक्षा निकायका सवारीसाधन तथा अन्य अत्यावश्यक सेवाका सवारीलाई मात्र सुरुङमार्ग प्रयोग गर्न अनुमति दिइनेछ। केही दिनसम्म सुरक्षा अवस्था, ट्राफिक व्यवस्थापन तथा प्राविधिक पक्षको परीक्षण गरिएपछि सबै वर्गका योग्य सवारीसाधनलाई सञ्चालन गर्न दिइने बताइएको छ। परीक्षण अवधिभर सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट कुनै शुल्क नलिइने जनाइएको छ।

कुल २,६८८ मिटर लामो सुरुङमार्ग नियमित सञ्चालनमा आएपछि सवारीसाधनले तोकिएको शुल्क तिर्नुपर्नेछ। सडक विभागका अनुसार कार तथा भ्यानले काठमाडौं प्रवेश गर्दा रु ६५ र बाहिरिँदा रु ६० शुल्क तिर्नुपर्नेछ।

मिनीबस, ट्रक तथा टिपरले काठमाडौंतर्फ आउँदा रु ११५ र बाहिरिँदा रु ८० तिर्नुपर्नेछ। त्यसैगरी ठूला बस तथा ट्रकले काठमाडौं प्रवेश गर्दा रु २६० र बाहिरिँदा रु २०० शुल्क बुझाउनुपर्ने व्यवस्था गरिएको छ।

सुरुङमार्गमा पैदलयात्री, दुईपाङ्ग्रे तथा तीनपाङ्ग्रे सवारीसाधनलाई प्रवेश अनुमति दिइने छैन। साथै पेट्रोल, डिजेल, ग्यासलगायत प्रज्ज्वलनशील पदार्थ तथा विस्फोटक सामग्री बोकेका सवारीसाधनलाई पनि सुरुङमार्ग प्रयोग गर्न निषेध गरिएको छ।

आयोजनाअन्तर्गत मुख्य सुरुङ र उद्धार सुरुङ गरी दुईवटा सुरुङ निर्माण गरिएको छ। मुख्य सुरुङमार्फत नियमित सवारी आवागमन हुनेछ भने आकस्मिक उद्धार तथा आपत्कालीन सेवाका लागि छुट्टै उद्धार सुरुङ प्रयोग गरिनेछ।

जापानको हाज्मा एन्डो कर्पोरेसनले निर्माण गरेको सुरुङमार्गमा अत्याधुनिक सुरक्षा प्रणाली जडान गरिएको छ। आयोजनाका परामर्शदाता संस्था निप्पन कोइका इन्जिनियर रमेशप्रसाद कोइरालाका अनुसार सुरुङभित्र दमकल सेवा, आकस्मिक उद्धार संयन्त्र, सिसीटिभी निगरानी, सञ्चार प्रणाली तथा अन्य सुरक्षा उपकरणहरू जडान गरिएका छन्। साथै पर्याप्त अक्सिजन प्रवाह र अन्य आवश्यक सेवाको समेत व्यवस्था गरिएको छ।

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१ स्थित दहचोक टोटीपाखाबाट सुरु हुने सुरुङमार्ग धादिङको धुनिबेँसी नगरपालिका अन्तर्गत सिस्नेखोलामा पुगेर टुंगिन्छ। यसले हालको नागढुङ्गा सडकखण्डमा हुने ट्राफिक जाम, तीव्र उकालो तथा घुमाउरा सडकको विकल्प प्रदान गर्नेछ।

सुरुङमार्ग सञ्चालनमा आएपछि यात्रु तथा सवारीसाधनले झन्डै एक घण्टासम्मको यात्रा समय बचत गर्न सक्ने तथा इन्धन खपतसमेत घट्ने अपेक्षा गरिएको छ।

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणमा जापान सरकारको करिब रु २१ अर्ब बराबरको सहुलियतपूर्ण ऋण तथा नेपाल सरकारको करिब रु ६ अर्ब लगानी रहेको छ। सुरुआती योजना अनुसार ४२ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिए पनि कोरोना महामारी तथा अन्य प्राविधिक जटिलताका कारण आयोजनाको अवधि लम्बिएको थियो।

सुरुङमार्ग सञ्चालन तथा व्यवस्थापनका लागि आवश्यक व्यवसायिक र प्राविधिक संरचना तयार भइसकेको छ। सुरक्षाकर्मी तथा प्राविधिक टोलीले नियमित अनुगमन तथा निरीक्षण गरिरहेका छन् भने सवारीसाधनबाट विद्युतीय माध्यममार्फत शुल्क भुक्तानी गर्ने व्यवस्था समेत मिलाइएको छ।

सुरुङमार्ग सञ्चालनसँगै नेपालको सडक पूर्वाधार विकासले नयाँ चरणमा प्रवेश गरेको विश्वास गरिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।