काठमाडौँ। नेपाल क्रिकेट संघ (क्यान) ले सन् २०२६ का लागि पुरुष र महिला खेलाडीको वर्गीकरण गरेको छ।
क्यानले ३८ पुरुष र २५ महिला खेलाडीलाई विभिन्न चार श्रेणीमा वर्गीकरण गरेको हो। क्यानले सोमबार जारी गरेको विज्ञप्तिअनुसार पुरुषतर्फ ए प्लस, ए, बी, सी र डेभलपमेन्ट समूहमा खेलाडीलाई समावेश गरेको छ। ए प्लस श्रेणीमा रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछाने परेका छन्। ए श्रेणीमा सोमपाल कामी, आसिफ शेख, कुशल भुर्तेल र करण केसी परे।
त्यसैगरी बी श्रेणीमा ललितनारायण राजवंशीसहित पाँचजना तथा सी श्रेणीमा सन्दीप जोरा, कुशल मल्ललगायत ११ खेलाडी समावेश गरिएका छन्। डेभलपमेन्ट श्रेणीमा १५ युवा खेलाडीलाई अवसर दिइएको क्यानले जनाएको छ।
महिलातर्फ ए श्रेणीमा इन्दु बर्मा, पूजा महतो, रुबिना क्षेत्री र सीता राना मगर छन्। बी र सी श्रेणीमा क्रमशः तीन/तीन र चार खेलाडी समावेश छन्। डेभलपमेन्ट समूहमा १४ खेलाडीलाई राखिएको छ।
क्यानले वर्गीकरणसँगै खेलाडीहरूको मासिक पारिश्रमिक पनि निर्धारण गरेको छ। पुरुष ए प्लस श्रेणीका खेलाडीले मासिक एक लाख २० हजार रुपैयाँ पाउनेछन् भने ए, बी, सी र डेभलपमेन्ट श्रेणीका खेलाडीले क्रमशः एक लाख, ७५ हजार, ५५ हजार र ३५ हजार रुपैयाँ पाउनेछन्।
महिला खेलाडीहरूतर्फ ए श्रेणीलाई मासिक ५० हजार, बीलाई ४० हजार, सीलाई ३० हजार र डेभलपमेन्ट श्रेणीलाई २५ हजार रुपैयाँ पारिश्रमिक तोकिएको छ।
यसका साथै पुरुष तथा महिला खेलाडीहरूले टी-२० खेलका लागि प्रतिखेल १० हजार र एकदिवसीय (ओडीआई) खेलका लागि १५ हजार रुपैयाँ म्याच फी पाउने व्यवस्था गरिएको क्यानले जनाएको छ।
क्यानका अनुसार यो वर्गीकरण खेलाडीको प्रदर्शन, क्षमता र भविष्यको सम्भावनालाई आधार मानेर गरिएको हो। नयाँ संरचनाले राष्ट्रिय टोलीलाई थप सशक्त बनाउँदै अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा राम्रो प्रदर्शन गर्ने लक्ष्य राखिएको संघले जनाएको छ।

Comment