कजरिया रमेश टायल्सले ८ महिनामै गर्‍यो साढे १ अर्बभन्दा बढीको व्यापार, सञ्चालन नाफा कति ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कजरिया रमेश टायल्सले चालु आर्थिक वर्षको ८ महिनामा साढे १ अर्ब रुपैयाँभन्दा बढीको कारोबार गरेको छ ।

कम्पनीले चालु आवको ८ महिनाको अवधिमा १ अर्ब ५४ करोड ७० लाख रुपैयाँको कारोबार गरेको हो ।

कम्पनीले गत आवको साढे १० महिनाको अवधिमा १ अर्ब ४७ करोड ३० लाख रुपैयाँको कारोबार गरेको थियो । कम्पनीले चालु आवको ८ महिनाको अवधिमा साढे १ अर्ब रुपैयाँको कारोबार गर्दा सञ्चालन नाफा १८.३ प्रतिशत रहेको छ ।

सन् २०२३ मा स्थापना भएको कम्पनीले ग्लेज्ड भिट्रीफाइड टायल्स (जीभीटी) र भित्ताको टायल्स उत्पादन गर्दै आएको छ ।

भारतको कजरिया सेरामिक्स लिमिटेड र रमेश कर्पको बराबर हिस्सा (जोइन्ट भेन्चर) मा सञ्चालनमा ल्याइएको उद्योग नवलपरासी जिल्लाको बर्दघाटमा रहेको छ । कम्पनीले सन् २०२४ को सुरुवातबाट कारोबार सुरु गरेको थियो ।

वार्षिक २ करोड ५६ लाख स्क्वायर फिट जीभीटी र २ करोड ९३ लाख स्क्वायर फिट भित्ताको टायल्स उत्पादन क्षमता रहेको कम्पनीले कजरिया ब्रान्डमा बिक्री वितरण गर्दै आएको छ । कम्पनीमा भारतीय कम्पनीको ५० प्रतिशत स्वामित्व रहेको छ भने बाँकी हिस्सा रमेश कर्प ग्रुपका ७ जना सदस्यको छ ।

कजरिया ब्रान्डको टायल्सको नेपालमा निकै माग छ । यसअघि रमेश कर्पले आयात गर्दै आएकोमा अहिले नेपालमै उद्योग स्थापना गरी कारोबार थालेको हो । नेपाली बजार पूर्ण रूपमा टायल्स आयातमा निर्भर छ । नेपाल सरकारले आव २०८०/८१ मा आयातित टायल्समा ४० प्रतिशत र कच्चा पदार्थमा ५ प्रतिशत भन्सार दर तोकेको छ । त्यसभन्दा अगाडि ३० प्रतिशत भन्सार दर थियो । उच्च भन्सार दरका कारण अहिले नेपाली उद्योगलाई प्रोत्साहन मिलेको छ ।

कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ४ अर्ब २९ करोड ३६ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि २ अर्ब ६९ करोड ३६ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि १ अर्ब ६० करोड रुपैयाँको रेटिङ गराएको हो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।