काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको नयाँ शान्ति प्रस्ताव अस्वीकार गरेपछि फेरी कच्चा तेलको मुल्यमा भारी वृद्धी भएको छ। ट्रम्पले ट्रुथ सोशल माफत इरानी प्रतिनिधिहरुको जवाफ पढेको र त्यो स्विकार्न नसकिने बताए।
उनले सामाजिक सञ्जालमा लेखे ‘मैले इरानी प्रतिनिधिहरूको जवाफ पढें। मलाई यो बिल्कुल मन परेन। यो स्वीकार गर्न सकिँदैन।’ यसअघि पनि उनले इरानमाथि खेल खेलिरहेको आरोप लगाएका थिए। इरानी सरकारी सञ्चारमाध्यमका अनुसार तेहरानले आइतबार पाकिस्तानमार्फत अमेरिकालाई आफ्नो नयाँ प्रस्ताव पठाएको थियो।
रिपोर्टअनुसार उक्त प्रस्तावमा युद्ध अन्त्य गर्ने, फारसको खाडी र स्ट्रेट अफ हर्मुज क्षेत्रमा समुद्री सुरक्षा सुनिश्चित गर्ने, प्रतिबन्ध हटाउने तथा परमाणु कार्यक्रमबारे वार्ता गर्ने विषय समेटिएको थियो।
अमेरिकाले यस हप्ता इरानलाई १४ बुँदे प्रस्ताव पठाएको थियो। त्यसअनुसार इरानले कम्तीमा १२ वर्षसम्म युरेनियम संवर्धन रोक्नुपर्नेछ र आफ्नो कब्जामा रहेको करिब ४४० किलो ६० प्रतिशत समृद्ध युरेनियम अमेरिकालाई बुझाउनुपर्ने लगाएत रहेका थिए।
यसको बदलामा अमेरिकाले प्रतिबन्धहरूमा केही खुकुलोपना ल्याउने, इरानका रोक्का गरिएका अर्बौं डलर बराबरका सम्पत्ति फुकुवा गर्ने तथा इरानी बन्दरगाहहरूमा लगाइएको नौसैनिक नाकाबन्दी हटाउने प्रस्ताव गरेको थियो।
रिपोर्टहरूका अनुसार इरान आफ्नो परमाणु कार्यक्रम र उच्च स्तरमा समृद्ध गरिएको युरेनियममाथि पूर्ण रूपमा सम्झौता गर्न तयार देखिएको छैन। इरानी अधिकारीहरूले आफ्नो जवाफ सकारात्मक र व्यवहारिक रहेको बताउँदै अब निर्णय अमेरिकाले गर्नुपर्ने बताएका छन्। दुवै देशले ८ अप्रिलदेखि लागू युद्धविराम अन्त्य भएको घोषणा भने गरेका छैनन्।
कच्चा तेलको मुल्यमा भारी वृद्धी
इरानको प्रस्तावलाई ट्रम्पले अस्वीकार गरेपछि कच्चा तेलको मूल्यमा तीव्र वृद्धि भएको छ। ब्रेन्ट क्रूडको मूल्य प्रति ब्यारेल १०४ डलर नाघेको छ। आइतबार राति अन्तर्राष्ट्रिय मानक ब्रेन्ट क्रूड २.६९ प्रतिशतले बढेर प्रति ब्यारेल १०४.०१ डलर पुगेको हो। यसअघि शुक्रबार पनि यसको मूल्यमा १.२३ प्रतिशतको वृद्धि भएको थियो।
अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट (डब्लुटीआई) क्रूड पनि ३.२४ प्रतिशतले बढेर प्रति ब्यारेल ९८.५१ डलर पुगेको छ। अघिल्लो कारोबार सत्रमा भएको वृद्धिपछि यसको मूल्य अझ माथि पुगेको हो।
विशेषज्ञहरूका अनुसार बजारको सबैभन्दा ठूलो चिन्ता हर्मुज क्षेत्रलाई लिएर छ। विश्वको ठूलो परिमाणको तेल यही समुद्री मार्ग हुँदै ओसारपसार हुने गर्छ। अमेरिका र इरानबीच बढ्दो तनावका कारण तेल आपूर्तिमा असर पर्ने जोखिम बढेको छ।
लगानीकर्ताहरूले दुई देशबीच वार्ता अगाडि बढ्ने अपेक्षा गरेका थिए। तर ट्रम्पको कडा अडानपछि युद्ध अन्त्य हुने सम्भावना कमजोर बन्दै गएको देखिएको छ। यही कारण हर्मुज बाहेक अन्य बजारबाट तेल खरिद बढेको छ र त्यसले मूल्यमा थप उछाल ल्याएको बताइएको छ।

Comment