काठमाडौँ । अभिनेता धिरज मगर र अभिनेत्री मिरुना मगरको मुख्य अभिनय रहेको नेपाली फिल्म ‘कुस्ती’ आगामी असोज ९ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ।
निर्माण तथा निर्देशन अनिल योञ्जनले गरेको यस फिल्मलाई काठमाडौँ तथा आसपासका क्षेत्रमा छायाङ्कन गरिएको हो। वितरक र प्रदर्शकको सल्लाहअनुसार असोजमा प्रदर्शन गर्ने निर्णय गरिएको निर्देशक योञ्जनले जानकारी दिएका छन्।
उनका अनुसार फिल्मले भावनात्मक उतारचढावसँगै हास्यरसलाई पनि समेटेको छ। उनले भने, “कुस्ती एक अर्कासँग छुट्टिएर बस्न नसक्ने र सँगै रहन पनि नसक्ने मनका भावनाहरूको मधुर यात्रा हो। यो प्रेम कथानक कमेडी ड्रामा हो।”
फिल्ममा प्रेम भए पनि स्वभावको भिन्नताका कारण एकसाथ रहन संघर्ष गरिरहेको जोडीको कथा प्रस्तुत गरिएको निर्देशक योञ्जनले बताए।
फिल्ममा धिरज मगर, मिरुना मगर, पुस्कर गुरुङ, लुनिभा तुलाधर, भोलाराज सापकोटा, दीकिला शेर्पा, रवीन्द्र झा, राजाराम पौडेल, किरण केसी, सूर्यमान लिम्बू, अरविन गुरुङ, रजनी गुरुङ, सुवर्ण थापा लगायतका कलाकारहरूको अभिनय रहेको छ।
यसैबीच, दिकिला शेर्पा फिल्म ‘कुस्ती’मार्फत नेपाली चलचित्रमा डेब्यु गर्दैछिन्। उनले यसअघि सन् २०२१ मा ‘मिस टिन फेसन आइकन’ उपाधि जितेकी थिइन् भने ६१औँ ‘मिस इन्डिया २०२६’ मा ‘मिस मल्टिमिडिया’ उपाधि जित्दै टप १५ मा स्थान बनाएकी थिइन्। उनी भारतीय रियालिटी शो ‘स्प्लिट्सभिल्ला’ सिजन ५ बाट समेत परिचित छिन्।
निर्माण टिमका अनुसार फिल्मको अन्तर्राष्ट्रिय वितरण अधिकारका लागि पनि छलफल भइरहेको छ र केही देशमा प्रदर्शन तय गर्ने तयारी अन्तिम चरणमा पुगेको छ।
फिल्ममा उमङ्ग शाहीको छायाङ्कन, मित्रदेव गुरुङको सम्पादन, दीपक शर्मा, अनिल योञ्जन र कल्याण सिंहको सङ्गीत रहेको छ। त्यस्तै रेनिश फागोको कलर करेक्सन, शैलेश श्रेष्ठ र रोहित शाक्यको पाश्र्व सङ्गीत तथा शिशिर खातीको नृत्य निर्देशन रहेको छ।
डिजिटल वितरण साझेदार ओएसआर डिजिटल रहेको फिल्मलाई काठमाडौँ रीच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र मोफसल एफडी कम्पनीले वितरण गर्ने भएका छन्।

Comment