गोदावरी–३ बालमैत्री वडा घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर । ललितपुरको गोदावरी नगरपालिका वडा नं. ३ बालमैत्री वडा घोषणा गरिएको छ। “सम्मानित बालापन–सुनिश्चित बालअधिकार, बालमैत्री तथा समुन्नत गोदावरीको आधार” भन्ने नारासहित बिहीबार वडा बालमैत्री घोषणा गरिएको हो।

घोषणा कार्यक्रममा जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फूँयालले वडा नं. ३ बालमैत्री घोषणा भएसँगै अब गोदावरी नगरपालिका नै बालमैत्री स्थानीय तह घोषणा हुनेगरी काम अगाडि बढेको जानकारी दिए। उनले बालअधिकार संविधानमा लेखेर मात्रै सुनिश्चित नहुने भन्दै यसको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताए।

नगरप्रमुख गजेन्द्र महर्जनले नगरपालिकाभित्र सुरक्षित वातावरण निर्माण गर्दै विकासका काम अगाडि बढाइएको बताउँदै बाँकी दुई वडा पनि यही महिनाभित्र बालमैत्री वडा घोषणा हुने जानकारी दिए। उनले अर्को महिना नै गोदावरी नगरपालिका बालमैत्री स्थानीय तह घोषणा हुने दाबी गर्दै बालश्रम र बालविवाहमुक्त स्थानीय तह सुनिश्चित गर्न अनुगमन तीव्र बनाइने बताए।

राष्ट्रिय बालअधिकार परिषद्का उपाध्यक्ष बमबहादुर बानियाँले नेपालले बालअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय प्रतिबद्धता तथा संवैधानिक व्यवस्था अनुसार बालमैत्री स्थानीय शासनमा जोड दिँदै आएको बताए। उनले निर्धारित सूचक पूरा गरेपछि मात्रै बालमैत्री घोषणा गरिने स्पष्ट पारे।

उपप्रमुख मुना अधिकारीले बालबालिकाका हकहित संरक्षणसँगै स्थानीय विकास निर्माणमा पनि बालबालिकाले खबरदारी गर्न सक्ने वातावरण आवश्यक रहेको बताइन्। सामाजिक सञ्जालको अत्यधिक प्रयोगका कारण अभिभावक र बालबालिकाबीचको सम्बन्ध कमजोर बन्दै गएको भन्दै उनले सचेतना अभिवृद्धिमा जोड दिइन्।

वडा अध्यक्ष सानुराज घिमिरे (राज)ले बालमैत्री वडा घोषणा भएपछि यसको दिगोपनामा विशेष ध्यान दिइने बताए। महिला तथा बालबालिका शाखा प्रमुख सीता गुरुङका अनुसार जनप्रतिनिधि, कर्मचारी र स्थानीय समुदायको सहकार्यमा विभिन्न अल्पकालीन तथा दीर्घकालीन काम पूरा गरेर वडा बालमैत्री घोषणा सम्भव भएको हो।

गोदावरी बाल सञ्जालका अध्यक्ष स्माइल राईले वडा नं. ३ ले ५१ वटा सूचक पूरा गरेपछि बालमैत्री वडा घोषणा हुन सफल भएको बताए। कार्यक्रममा सहभागी वक्ताहरूले बालसंरक्षण, बालविकास र बालप्रतिभा प्रस्फुटनका लागि स्थानीय, प्रदेश र संघीय तहबीच सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।