पुनर्चक्रणको अभ्यास प्रवर्द्धन गर्नुपर्नेमा जोड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर । विश्व पुनर्चक्रण दिवस २०२६ को अवसरमा ललितपुरमा दिगो फोहर व्यवस्थापन, पुनःप्रयोग तथा चक्रिय अर्थतन्त्र प्रवर्द्धन गर्ने उद्देश्यसहित विविध कार्यक्रम सम्पन्न गरिएको छ।

क्रियसन नेपालले ग्रीनशिफ्ट परियोजनाअन्तर्गत आयोजना गरेको कार्यक्रममा “फोहोर हैन, अवसर सोच्नुहोस्” भन्ने अन्तर्राष्ट्रिय नारालाई केन्द्रमा राखेर फोहरलाई समस्यामात्र नभई अवसरका रूपमा पनि हेर्नुपर्ने सन्देश दिइएको थियो।

कार्यक्रममा ललितपुर महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले फोहरमैला व्यवस्थापन र पुनःप्रयोगको महत्वबारे जनचेतना अझै विस्तार गर्न आवश्यक रहेको बताइन्। उनले सरसफाइमा खटिने कामदारहरूको योगदानको कदर गर्न र फोहरप्रतिको सोच परिवर्तन गर्नुपर्नेमा जोड दिइन्।

युरोपेली संघका नेपालस्थित सहकार्य प्रमुख होसे लुइस भिनुएसा सान्तामारियाले यस्ता पहलले दिगो भविष्य निर्माणमा टेवा पुग्ने बताए। उनले “ग्रीन सर्कुलारिटी” अवधारणाले घटाउने, पुनःप्रयोग गर्ने, पुनःप्राप्त गर्ने र रिसाइक्लिङ गर्ने अभ्यासलाई प्रोत्साहन गर्ने उल्लेख गरे।

क्रियसनकी कार्यक्रम निर्देशक सुजाता कोइरालाले प्लास्टिकलाई समस्याका रूपमा मात्र नभई अवसरका रूपमा पनि बुझ्नुपर्ने बताइन्। संस्थाकी अध्यक्ष अरुणा कार्कीले ग्रीनशिफ्टलाई परियोजनाभन्दा पनि परिवर्तनको अभियानका रूपमा प्रस्तुत गरिन्।

कार्यक्रमको मुख्य आकर्षणका रूपमा करिब एक सय फोहर संकलनकर्ताको साइकल यात्रा आयोजना गरिएको थियो। कार्यक्रममा पुनर्चक्रण उद्यमी, फोहर संकलनकर्ता, युवा नवप्रवर्तनकर्ता तथा हरित व्यवसायमा संलग्न संस्थाहरूको उल्लेख्य सहभागिता रहेको थियो।

यस अवसरमा पुनर्चक्रण क्षेत्रमा योगदान पुर्‍याउने उद्यमी, फोहर संकलनकर्ता तथा साझेदार संस्थाहरूलाई प्रशंसापत्र प्रदान गरिएको थियो। साथै, विषयगत छलफलमार्फत रिसाइक्लिङ र चक्रिय अर्थतन्त्रका अवसर, चुनौती तथा नवप्रवर्तनबारे विज्ञहरूले धारणा राखेका थिए।

वक्ताहरूले रिसाइक्लिङले फोहरको मात्रा घटाउने, हरितगृह ग्यास उत्सर्जन कम गर्ने तथा दिगो उपभोग र उत्पादन प्रणालीलाई प्रवर्द्धन गर्ने बताएका थिए। आयोजकका अनुसार, यस्ता कार्यक्रमले स्थानीय तह, निजी क्षेत्र, युवा समूह तथा वातावरणीय संस्थाबीच सहकार्य मजबुत बनाउँदै स्वच्छ सहर, दिगो रोजगारी र हरित अर्थतन्त्र प्रवर्द्धनमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।