भोजपुर । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले श्रम नगरी देशको विकास हुन नसक्ने बताएका छन्। देश गफले नभइ कामले बन्ने अध्यक्ष साम्पाङ भनाइ छ।
यहाँको हतुवागढी र आमचोक गाउँपालिकामा आज भएको चुनावी सभा तथा भेटघाटका क्रममा अध्यक्ष साम्पाङले अन्य पार्टीहरूले काम गर्ने क्षमता नदेखाएको बताए। उनले गफले मात्रै मुलुक नबन्ने भएकाले श्रम अनिवार्य गर्नुपर्नेमा जोड दिए।
अध्यक्ष साम्पाङले अन्य राजनीतिक दलहरू विकासका नाममा भाषण र आश्वासनमै सीमित भएको बताउँदै काम गर्ने मानिसलाई हेप्ने र गफ गर्ने मानिसलाई सम्मान गर्ने गलत संस्कार देखिएको जिकिर गरे। सो क्रममा अध्यक्ष साम्पाङले युवाहरूलाई पैसामा नलोभिन आग्रहसमेत गरे।
श्रम संस्कृति श्रम गर्ने र गरिखानेहरूको पार्टी भएकाले विश्वास गर्न उनले सबैलाई आग्रहसमेत गरे। अध्यक्ष साम्पाङले भोजपुर र उदयपुर जोड्ने चुहारको निर्माणाधीन पुलको समेत अवस्था बुझ्दै काम गर्ने अवसर दिएमा पुल बनाउने जिम्मा लिनेसमेत बताए। यो पुल भोजपुरको जीवनरेखा भएको बताउँदै साम्पाङले आठ वर्षमा पनि पुल नबनेकाले आफूहरूलाई काम गर्ने अवसर दिन आग्रह गरे।

Comment