काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासिक अवधिमा नेपालका २० वटा वाणिज्य बैंकहरूको नाफा–नोक्सानीमा उल्लेखनीय फेरबदल देखिएको छ। सार्वजनिक भएका अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा नबिल बैंक सबैभन्दा बढी खुद नाफा आर्जन गर्ने बैंक बनेको छ भने केही ठूला बैंकहरू घाटामा समेत पुगेका छन्।
छ महिनाको अवधिमा (पुस मसान्त २०८२ सम्म) नबिल बैंकले ४ अर्ब ७५ करोड ९६ लाख रुपैयाँ खुद नाफा आर्जन गर्दै नाफाको आधारमा पहिलो स्थान हासिल गरेको छ। अघिल्लो वर्षको सोही अवधिको तुलनामा बैंकको नाफा ४६.७१ प्रतिशतले वृद्धि भएको हो।
ग्लोबल आइएमई बैंकले ३ अर्ब २५ करोड २१ लाख रुपैयाँ खुद नाफा आर्जन गर्दै दोस्रो स्थान सुरक्षित गरेको छ। बैंकको नाफा अघिल्लो वर्षको तुलनामा ६.५० प्रतिशतले बढेको छ।
यस अवधिमा कुमारी बैंकले सबैलाई चकित पार्दै उल्लेखनीय सुधार गरेको छ। अघिल्लो वर्ष २७ करोड रुपैयाँ नाफा आर्जन गरेको बैंकले यस वर्ष २ अर्ब ७२ करोड रुपैयाँ नाफा कमाउँदै ८८६.५० प्रतिशतको ऐतिहासिक वृद्धि हासिल गरेको छ।
त्यस्तै, नेपाल बैंकले १८३.०४ प्रतिशत, सिद्धार्थ बैंकले १५०.२० प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकले १३२.०४ प्रतिशतले नाफा वृद्धि गर्न सफल भएका छन्।
यद्यपि, केही ठूला तथा स्थापित बैंकहरूको नाफामा भने गम्भीर संकुचन देखिएको छ। लक्ष्मी सनराइज बैंकको नाफा १२३.५५ प्रतिशतले घट्दै २७ करोड ३६ लाख रुपैयाँ घाटामा पुगेको छ। कृषि विकास बैंकको नाफा ९९.९३ प्रतिशतले घटेर ७० लाख ७४ हजार रुपैयाँमा सीमित भएको छ। नेपाल एसबीआई बैंकको नाफा पनि ८८.५४ प्रतिशतले घटेको देखिन्छ।
मध्यम स्तरको नाफा आर्जन गर्ने बैंकहरूमा माछापुच्छ्रे बैंकले १ अर्ब १ करोड रुपैयाँ, सानिमा बैंकले १ अर्ब ३९ करोड रुपैयाँ र हिमालयन बैंकले १ अर्ब २९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन्।
विश्लेषकहरूका अनुसार बैंकहरूको नाफामा देखिएको यो उतार–चढाव कर्जा गुणस्तर, खराब कर्जा व्यवस्थापन, ब्याजदरको अवस्था र सञ्चालन खर्चसँग प्रत्यक्ष रूपमा जोडिएको छ। आगामी त्रैमासिकमा बैंकहरूको वित्तीय अवस्था थप स्पष्ट हुने अपेक्षा गरिएको छ।

Comment