काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्माबीच पार्टीभित्र देखिएको विवाद समाधानका लागि देउवा निवास महाराजगञ्जमा भएको वार्ता सहमति बिना टुङ्गिएको छ। वार्ताका क्रममा सभापति देउवाको असहिष्णु र हेपाहा व्यवहार देखिएपछि सहमति जुट्न नसकेको वार्तामा सहभागी नेताहरूले बताएका छन्।
काठमाडौँको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशन नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रियामा प्रवेश गरेपछि सभापति देउवाले बुधबार बिहानै दुवै महामन्त्रीलाई आफ्नो निवासमा छलफलका लागि बोलाएका थिए। हाल पनि छलफल जारी रहेको र अन्तिम सहमतिको प्रयास भइरहेको त्यहाँ सहभागी एक नेताले जानकारी दिए।
देउवा निवासमा भइरहेको वार्तामा रमेश लेखक, बालकृष्ण खाण, जीवन परियार, मिनेन्द्र रिजाललगायत शीर्ष नेताहरू सहभागी छन्।

Comment