काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को साविक विजेता जनकपुर बोल्ट्सले हारसँगै प्रतियोगिताको अन्त्य गरेको छ।
आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको लिग चरणको अन्तिम खेलमा जनकपुर बोल्ट्स कर्णाली याक्ससँग ३ रनको झिनो अन्तरले पराजित भएको हो।
यो हारसँगै डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्स जारी सिजनमा खेलेका ७ खेलमध्ये ६ खेलमा पराजित हुँदै अंक तालिकाको पुछारमा रहेर घर फर्किएको छ।
उता सान्त्वना जित निकालेको कर्णाली याक्सले भने ४ अंकसहित छैटाैं स्थानमा रहँदै प्रतियोगिता सकाएको छ।
कर्णालीले प्रस्तुत गरेको १३० रनको मध्यम लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १२६ रन मात्र बनाउन सक्यो।
खराब सुरुवात गरेको जनकपुरले २९ रन जोड्दा आफ्ना शीर्ष ४ ब्याटर गुमाइसकेको थियो।
ओपनर आसिफ शेख र अनिल साह शून्यमै आउट भए। तर, मध्यक्रममा सञ्जय कृष्णमूर्तिले सम्हालिएको पारी खेले। उनले ३९ बलमा ४ छक्का र १ चौकाको मद्दतले ५१ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन्।
उनलाई संगीत कोरेले २५ रन बनाएर साथ दिएका थिए।
अन्तिम ओभरमा जितका लागि जनकपुरलाई १२ रन आवश्यक थियो। तर, कर्णालीका बलरहरूले कसिलो बलिङ गर्दै ३ रनले खेल आफ्नो पक्षमा पारे। बलिङतर्फ कर्णालीका विलियम बोसिस्टोले २ विकेट लिए भने मार्क वाट, नन्दन यादव र सोमपाल कामीले १–१ विकेट लिए।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कर्णाली याक्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२९ रन बनाएको थियो।
कर्णालीका लागि इमरान शेखले सर्वाधिक ३३ रन बनाए। गुल्सन झाले १९ रन जोड्दा कप्तान सोमपाल कामीले अन्त्यमा ११ बलमा आक्रामक १८ रन बनाएर टोलीलाई सम्मानजनक स्कोरमा पुर्याएका थिए।
जनकपुरका ललित राजवंशी र आदित्य महताले २–२ विकेट लिएका थिए।
आजको खेल दुवै टोलीका लागि प्रतिष्ठाको विषय मात्र थियो। अंक तालिकाको पुछारमा रहेका यी दुवै टोली प्लेअफको दौडबाट यसअघि नै बाहिरिइसकेका थिए।
यो सिजन सुदूरपश्चिम रोयल्स, विराटनगर किंग्स, काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स प्लेअफमा पुग्न सफल भएका छन्।
प्रतियोगिताको अन्तिम खेलसँगै जनकपुर बोल्ट्सले अत्यन्तै खराब प्रदर्शन गर्दै सिजनको अन्त्य गरेको छ।

Comment