तेस्रो विश्वका मानिसलाई अमेरिकामा आप्रवासन गर्न स्थायी रूपमा रोक्ने ट्रम्पको घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले तेस्रो विश्वका सबै देशहरूबाट हुने आप्रवासनलाई स्थायी रूपमा रोक्ने घोषणा गरेका छन् ।

ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै यस कदमले अमेरिकी प्रणालीलाई पूर्ण रूपमा पुनःस्थापना हुन मद्दत गने बताए । विगतका नीतिहरूले धेरै अमेरिकीहरूको उपलब्धि र जीवनस्तरमा क्षति पारेको ट्रम्पको भनाइ छ ।

उनले योजनाको विस्तृत विवरण नदिई कुन–कुन देशहरू प्रभावित हुनेछन् भन्ने पनि बताएनन् ।

राजधानी वाशिङटन डीसीमा एक अफगान नागरिकले दुई नेशनल गार्ड सदस्यमाथि गोली प्रहार गरेको घटनाको भोलिपल्ट ट्रम्पको घोषणा आएको हो । त्यसमा परेका एकजनाको मृत्यु भएको छ । ट्रम्पले यो घटना राष्ट्रिय सुरक्षाका लागि ठूलो खतरा भएको बताए ।

राष्ट्रपतिका पछिल्ला घोषणाहरूले आप्रवासनबारे उनको कठोर धारणा प्रस्तुत गर्छन् ।

अमेरिकामा बस्न नपर्ने सबै विदेशीलाई निकालिने भनी गोलीकाण्डपछि ट्रम्पले प्रतिज्ञा गरेका छन् । सोही दिन अमेरिकाको सरकारले अफगान नागरिकहरूका सबै आप्रवासन प्रक्रियाहरू रोक्ने निर्णय गरेको छ । सुरक्षा र भेरिफिकेशन प्रोटोकल पुनरवलोकन नहुँदासम्म यो रोक कायम रहनेछ ।

त्यसपछि बिहीबार अमेरिकी नागरिकता तथा आप्रवासन सेवाले १९ देशबाट अमेरिका आएका व्यक्तिहरूलाई दिइएका ग्रीन कार्डहरू पुनः समीक्षा गरिने घोषणा गरेको थियो ।

अफगानिस्तान, क्युबा, हाइटी, इरान, सोमालिया र भेनेजुएलासँगै अन्य देशहरू पनि समीक्षा गरिने मुलुकको सूचीमा छन् ।
पुनः समीक्षा कसरी गरिन्छ भन्नेबारे थप विवरण दिइएको छैन ।

बिहीबार राति दुई–भागमा लेखिएको पोस्टमा ट्रम्पले गैरनागरिकहरूका सबै संघीय सुविधा र अनुदान अन्त्य गर्ने प्रतिज्ञा गरे ।
पोस्टमा उनले शरणार्थीहरूलाई अमेरिकामा सामाजिक अव्यवस्था ल्याएको आरोप लगाउँदै अमेरिकाको हित नगर्ने सबैलाई निकाल्ने बताए ।

तेस्रो विश्व भन्ने शब्द परम्परागत रूपमा गरिब तथा विकासशील राष्ट्रहरूलाई जनाउन प्रयोग हुँदै आएको हो ।

ह्वाइट हाउस र यूएससीआईएसले ट्रम्पको योजनाबारे अझै विस्तृत विवरण दिएका छैनन् र उक्त पोस्टमा उक्त कदमलाई बुधबारको गोलीकाण्डसँग सीधै जोडिएको पनि थिएन ।

यस वर्षको सुरुमा नै ट्रम्पले अफगानिस्तानसहित ११ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगाइसकेका थिए । पहिलो कार्यकालमा पनि उनले धेरैजसो मुस्लिमबहुल देशहरूलाई लक्षित गर्दै यात्रा प्रतिबन्ध लागू गरेका थिए ।

वाशिङटन डीसीमा नेशनल गार्डका सदस्यहरूमाथि आक्रमणको आरोप लागेका अफगान नागरिक रहमानुल्लाह लकनवाल सन् २०२१ मा अमेरिका आएका थिए ।

लकनवाल अमेरिकी फौजसँग काम गरेका अफगानहरूलाई विशेष सुरक्षात्मक आप्रवासन सुविधा दिने कार्यक्रमअन्तर्गत अमेरिका आएका थिए ।

उही समयमा तालिबानले अफगानिस्तानमा पुनः सत्ता लिएको थियो, जसले अमेरिकासँग सहकार्य गरेका मानिसहरूलाई जोखिम बढाएको थियो ।

लाकनवालले एक समय सीआईएका साथ पनि काम गरेका थिए । उनले सन् २०२४ मा शरणका लागि निवेदन दिएका थिए । त्यो यसै वर्ष स्वीकृत भएको बताइएको छ ।

आक्रमणपछि उनलाई पक्राउ गरिएको थियो र उनले अधिकारीहरूलाई सहयोग गरिरहेका छैनन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।