काठमाडौं । देशभरका जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्ष २०८२/८३ को असोज महिनामै करिब १४ अर्ब रुपैयाँ बराबरको बीमा व्यापार गरेका छन्।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार असोज मसान्तसम्म कम्पनीहरूले कुल ४९ अर्ब २२ करोड ९३ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका छन्। तीमध्ये असोज महिनामा मात्रै १३ अर्ब ९७ करोड ९६ लाख रुपैयाँ बीमा शुल्क संकलन भएको छ। यस अवधिमा कम्पनीहरूले १० अर्ब ९७ करोड ९७ लाख रुपैयाँ नविकरणमार्फत र २ अर्ब ९९ करोड ९८ लाख रुपैयाँ नयाँ बीमा (प्रथम बीमा शुल्क) बाट आर्जन गरेका छन्।
बीमा कारोबारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अग्रस्थानमा रहेको छ। कम्पनीले असोज महिनामा मात्रै ३ अर्ब ७७ करोड १७ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेको छ, जसमा ८६ करोड ६ लाख रुपैयाँ नयाँ व्यापार र २ अर्ब ९१ करोड २१ लाख रुपैयाँ नविकरणमार्फत संकलन गरिएको हो। दोस्रो स्थानमा रहेको नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले असोज महिनामा १ अर्ब ७० करोड २० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ, जसमा १ अर्ब ३१ करोड २१ लाख रुपैयाँ नविकरण र ३८ करोड ९८ लाख रुपैयाँ नयाँ बीमा शुल्क रहेको छ।
तेस्रो स्थानमा रहेको लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) ले १ अर्ब ५८ करोड ९१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ, जसमा १ अर्ब ३८ करोड ६७ लाख रुपैयाँ नविकरण र २० करोड २४ लाख रुपैयाँ नयाँ बीमा शुल्क समावेश छन्। त्यसैगरी हिमालयन लाइफले असोज महिनामा १ अर्ब २६ करोड ३८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ। यता, सूर्यज्योति लाइफले ८६ करोड ५७ लाख, एशियन लाइफले ७८ करोड ५३ लाख, सिटिजन लाइफले ६७ करोड ७२ लाख, सानिमा रिलायन्सले ६० करोड ९७ लाख, मेट लाइफले ६० करोड ९३ लाख, राष्ट्रिय जीवन बीमाले ४५ करोड १९ लाख, रिलायबल नेपालले ४४ करोड २५ लाख, प्रभू महालक्ष्मी लाइफले ४३ करोड ७ लाख र आइएमई लाइफले ४२ करोड ९५ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका छन्।
बीमा प्राधिकरणका अनुसार जीवन बीमा क्षेत्रमा नविकरण बीमाको हिस्सा अझै प्रमुख स्रोत बनेको छ। नयाँ बीमालेखहरूको संख्या विस्तार भए पनि अपेक्षाअनुसार वृद्धिदर हासिल गर्न नसकेको देखिन्छ। तथापि, बीमा कारोबारमा स्थायित्व र बजार विस्तारको क्रम निरन्तर अघि बढिरहेको प्राधिकरणले जनाएको छ।

Comment