काठमाडौं । लक्ष्मी सनराइज बैंकले चालु आर्थिक वर्ष अर्थात् आव २०८२/८३ को पहिलो त्रैमासमा ३३ करोड २३ लाख रुपैयाँ खुद नाफा गरेको छ । बैंकले गत आवको सोही अवधिको तुलनामा २० करोड कम नाफा गरेको हो । बैंकले आव २०८१/८२ को पहिलो ३ महिनामा ५३ करोड ६३ लाख रुपैयाँ नाफा गरेको थियो ।
खुद ब्याज आम्दानी र खुद फि एन्ड कमिसन आम्दानी बढे पनि नोक्सानी व्यवस्थाका लागि छुट्याउनुपर्ने रकम ब्यापक मात्रामा बढ्दा बैंकको नाफामा भारी गिरावट आएको हो ।
बैंकले ३ महिनामा २ अर्ब ७१ करोड ५२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गर्दा र ६१ करोड ६८ लाख खुद फि एन्ड कमिसन आम्दानी गरेको छ । यसैगरी १ अर्ब ९४ करोड प्रोभिजन गरेको छ जुन गत आवको १ अर्ब १६ करोडभन्दा ७८ करोड बढी हो ।
नाफा घट्दा लक्ष्मी सनराइजनको ईपीएस पनि ९.२५ रुपैयाँबाट घटेर ५.४६ रुपैयाँ पुगेको छ ।
असोज मसान्तसम्म बैंकको निष्क्रिय कर्जा ५.४२ प्रतिशत छ जुन गत आवको असोज मसान्तको तुलनामा थोरै बढेको हो । यता खुद निष्क्रिय कर्जा भने १.५७ प्रतिशत मात्र छ ।
बैंकले हालसम्म ३ खर्ब ७५ अर्ब १ करोड रुपैयाँ निक्षेप परिचालन गरी २ खर्ब ८२ अर्ब ३८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । ३ महिनामा बैंकको निक्षेप ८ अर्बले बढ्दा कर्जा ७ अर्बले विस्तार भएको छ । बैंकको निक्षेप कर्जा अनुपात ७८.०९ प्रतिशत छ ।
असोज मसान्तको तथ्यअनुसार बैंकको प्रतिसेयर नेटवर्थ १८४.८९ रुपैयाँ, आरओई २.९४ प्रतिशत, स्प्रेड दर ३.६६ प्रतिशत र पीई रेसियो ३९.७४ छ ।
यस अवधिमा बैंकको बक्यौता ब्याज र गैरबैंकिङ सम्पत्ति दुबै बढ्दा ३ महिनाको सेयरधनीलाई बाँड्न मिल्ने रकम ऋणात्मक छ ।

Comment