काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठक आज (शुक्रबार) बस्दैछ। बैठक बिहान ११ बजे अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको गुण्डुमा बस्ने कार्यक्रम तय गरिएको छ।
एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीका अनुसार यही असोज २७ देखि २९ गतेसम्म बस्ने केन्द्रीय समिति बैठकको तयारीस्वरूप आजको सचिवालय बैठक आयोजना गरिएको हो।
‘आगामी केन्द्रीय समिति बैठकका एजेन्डा तय गर्ने, संगठन सुदृढीकरणका उपायहरूमा छलफल गर्ने र पार्टीको नयाँ कार्यदिशा र रणनीति निर्धारण गर्ने विषयमा बैठक केन्द्रित हुनेछ,’ अधिकारीले जानकारी दिए।
यसअघि गएको आइतबारका लागि सचिवालय बैठक बोलाइएको थियो। तर देशका विभिन्न स्थानमा अविरल वर्षाका कारण उत्पन्न बाढी, पहिरो र डुबानको अवस्थालाई मध्यनजर गर्दै बैठक स्थगित गरिएको थियो।
आजको बैठकले पार्टीभित्रका हालका राजनीतिक गतिविधि, संगठनात्मक तयारी र प्रदेशस्तरीय बैठकहरूबारे पनि समीक्षा गर्ने बताइएको छ।
Comment