धादिङको जवाङ खोलामा पहिरो: मुग्लिन–काठमाडौं सडक दुईतर्फी अवरुद्ध

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० स्थित जवाङ खोलामा ठूलो सुक्खा पहिरो खस्दा मुग्लिन–काठमाडौं सडकखण्ड दुईतर्फी रूपमा अवरुद्ध भएको छ।

गएराति खसेको पहिरो पन्छाएर केही समय एकतर्फी रूपमा सवारी सञ्चालन गरिए पनि राति नै पुनः ठूलो पहिरो खसेपछि सडक दुवै तर्फबाट पूर्णरूपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

प्रहरीका अनुसार पहिरो झर्ने क्रम अझै जारी रहेकोले सुरक्षाका कारणले पहिरो पन्छाउने काम अघि बढाउन सकिएको छैन। यसले गर्दा यात्रुहरू तथा सवारी चालक/सहचालकहरू बाटोमै अलपत्र परेका छन्।

प्रहरीले यात्रुहरूलाई सुरक्षित स्थानमा बस्न, लेन अनुशासन पालना गर्न तथा धैर्य गर्न आग्रह गरेको छ। जोखिम कायमै रहेकाले तत्काल पहिरो हटाएर सडक सञ्चालन गर्न कठिन भइरहेको जनाइएको छ।

यसअघि पनि यही सडकखण्डको तुइन खोला नजिक गएको गत शुक्रबार खसेको पहिरो ४७ घण्टापछि मात्र आइतबार साँझ खुलाइएको थियो। त्यसपछिका दिनहरूमा बारम्बार पहिरो जाँदा सडक खुल्ने र बन्द हुने अवस्था दोहोरिँदै आएको छ।

सडक पूर्णरूपमा खुल्ने समय अझै निश्चित भइसकेको छैन, तर सुरक्षासहित पहिरो हटाउने प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।