शिक्षामन्त्री महावीर मन्त्रालयमै बस्ने: मागे कोठा, आफैं पकाएर खाने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले मन्त्री क्वार्टरमा नबसी मन्त्रालयमै बस्ने घोषणा गरेका छन्।

पदभार ग्रहण गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री पुनले आफूलाई छुट्टै क्वार्टर नचाहिने र मन्त्रालयमै सुत्ने व्यवस्था मिलाउन निर्देशन दिए ।

‘मन्त्री क्वार्टर चाहिँदैन । मन्त्रालयमै एउटा कोठा बनाउनू । खाट, कुर्सी र टेबल भए पुग्छ । किचन पनि चाहियो। आफैं पकाएर खान्छु।’

सुरक्षाकर्मीलाई समेत मन्त्रालयमै बस्न आग्रह गर्दै उनले अतिरिक्त सुरक्षाको आवश्यकता नरहेको स्पष्ट पारे । पुनले भने, ‘सेवा सुविधा के छ भने त्यहाँबाट आउँदा एउटा पुलिस र एउटा आर्मीको रहेछ । मैले भाइहरूलाई भनेको छु- कमाण्डरलाई रिपोर्ट गर्नुहोस् । म मन्त्रालयमै बस्छु, यहाँबाट बाहिर निस्किँदा पछिपछि आउनु पर्दैन ।’

सरकारी गाडी औपचारिक कामका लागि मात्र प्रयोग गर्ने उनले घोषणा गरे । उनले आफूलाई मन्त्री पदका लागि ६ महिनाको जिम्मेवारी आएको बताउँदै यो अवधिमा सकेको काम गर्ने प्रतिबद्धता जनाए।

पुनले आफू मन्त्री बन्ने इच्छुक नरहेको तर परिस्थितिले बाध्य तुल्याएको बताए ।

विज्ञानसँगै शिक्षाको जिम्मेवारी पनि आफूले वहन गर्नुपर्ने भएकाले कुन–कुन विषयलाई प्राथमिकतामा राख्ने भन्नेबारे तत्काल निर्णय नगर्ने बताएका छन् ।

उनले असल मानिसको सुझाव मात्र ग्रहण गर्ने बताए । साथै, युवाहरूलाई कुनै पनि काम गर्दा अरूलाई मात्र पछ्याएर वा कसैको पुच्छर बनेर नभइ, आफ्नै बुद्धि र सोच प्रयोग गरेर अघि बढ्नुपर्ने उनले बताए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।