काठमाडौँ। पाँच दिनसम्म भव्य रूपमा सञ्चालन भएको नाडा अटो शो २०२५ आज औपचारिक रूपमा समापन भएको छ। यसपटकको अटो शोले नेपाली अटोमोबाइल उद्योगलाई प्रविधिमैत्री दिशातर्फ उन्मुख गराउँदै ऐतिहासिक सफलता हासिल गरेको आयोजकले जनाएका छन्।
भदौ ७ गतेसम्म मात्र १ लाख ४९ हजार ८८१ दर्शकले प्रदर्शनी स्थलमा प्रत्यक्ष अवलोकन गरिसकेका थिए। यो तथ्याङ्कले नेपाली जनसमुदाय विद्युतीय सवारीसाधन, स्मार्ट प्रविधि र दिगो मोबिलिटी समाधानप्रति गहिरो चासो राखिरहेको पुष्टि गर्छ।
अन्तिम दिनसम्म पनि प्रदर्शनीमा उच्चस्तरीय उपस्थित देखिएको छ। समापनको पूर्वसन्ध्यामा नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्याल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, ट्राफिक प्रहरी प्रमुख नवराज अधिकारी, तातोपानी भन्सार कार्यालयका प्रमुख राजेन्द्रप्रसाद चुडाल, उद्योगी अरुणकुमार चौधरी, तथा कलाकार सन्दिप क्षेत्री लगायत विशिष्ट व्यक्तित्वहरूले अटो शोको अवलोकन गरेका थिए।
नाडाले अटो शोको प्रत्येक दिन विविध विषयमा अन्तरक्रिया कार्यक्रम गर्दै आएको थियो। समापन दिन ‘सडक र यातायात’ विषयमा ट्राफिक प्रहरी प्रमुख नवराज अधिकारीको प्रमुख आतिथ्य, र ‘मेड इन नेपाल’ विषयमा नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीको अध्यक्षतामा विशेष छलफल कार्यक्रम सम्पन्न भएको छ।
नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका अध्यक्षले अटो शोको उपलब्धिलाई भविष्य–उन्मुख र नवप्रवर्तनशील नेपालको संकेतको रूपमा व्याख्या गर्दै भने, “यस अटो शोले हाम्रो अपेक्षालाई अझ बलियो बनाएको छ र नेपाललाई अटोमोबाइल नवप्रवर्तन तथा दिगो मोबिलिटीको उदाउँदो केन्द्र बनाउन आत्मविश्वास थपेको छ।”
नाडा अटो शो २०२५ ले न केवल व्यवसायिक रूपमा सफलता हासिल गरेको छ, तर सार्वजनिक सचेतना, प्रविधिमा पहुँच र वातावरणमैत्री विकल्पप्रति जनचासो वृद्धि गराउँदै नेपाली अटो उद्योगको भविष्य झनै सम्भावनायुक्त रहेको सन्देश दिएको छ।
Comment