काठमाडाैं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना साउनमा मात्रै ६८ हजार ११० जना नेपालीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएर विभिन्न मुलुक प्रस्थान गरेका छन्।
वैदेशिक रोजगार विभागका अनुसार, यो संख्यामा ५८ हजार ९४८ जना पुरुष र ९ हजार १६२ जना महिला रहेका छन्। यो संख्या अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही महिनाको तुलनामा ८ हजार ५३५ जना बढी हो। गत वर्ष साउनमा ५९ हजार ५७५ जना नेपाली विदेशिएका थिए।
पछिल्लो समय देशभित्र पर्याप्त रोजगारी सिर्जना नहुनु, राजनीतिक अस्थिरता र आर्थिक अवसरको अभावका कारण नेपाली युवाहरू वैदेशिक रोजगारीतर्फ तीव्र गतिमा आकर्षित भइरहेका छन्। यस वर्षको साउन महिनामा विदेशिनेहरूमध्ये ३७ हजार ७१३ जना दक्ष जनशक्ति रहेका छन्। त्यसबाहेक, ९३ जना उच्च दक्ष श्रमिक, ३४० जना व्यवसायिक, १० हजार ७१८ जना अर्धदक्ष र १९ हजार २४६ जना अदक्ष जनशक्ति विदेशिएका छन्।
यस अवधिमा यूएई (संयुक्त अरब इमिरेट्स) सबैभन्दा धेरै रोजाइमा परेको गन्तव्य बनेको छ, जहाँ १७ हजार ७७९ जना नेपालीले श्रम स्वीकृति लिएका छन्, जुन कुल संख्याको करिब ४० प्रतिशत हो। अन्य प्रमुख गन्तव्य मुलुकहरूमा साउदी अरेबिया ५,९०० जना , कतार ४,४११ जना , मलेसिया ३,११० जना , कुवेत २,६२७ जना , जापान २,०५९ जना , क्रोएसिया १,२८३ जना , रोमानिया ८४६ जना , साइप्रस ७५५ जना , माल्दिभ्स ६०७ जना र ओमन ५१३ जना रहेका छन्।
Comment