काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसले लिपुलेक मार्ग प्रयोग गरेर सीमा व्यापार गर्न भारत र चीनबीच हालै भएको सम्झौतालाई गम्भीर आपत्तिजनक भनेको छ। बिहीबार संसदको विशेष समयमा बोल्दै नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली भूमिबारे नेपाललाई अँध्यारोमा राखेर गरिएको निर्णय अस्वीकार्य भएको स्पष्ट पारे।
‘हाम्रा दुई छिमेकी मुलुक भारत र चीनले लिपुलेक प्रयोग गर्नेबारे हाम्रो भूमिकालाई बेवास्ता गर्दै हामीलाई अनुपस्थित राखेर सम्झौता गरेका छन्,’ थापाले संसदमा भने, ‘नेपाली कांग्रेस यो व्यवहारप्रति गम्भीर असहमति प्रकट गर्दछ। यो आपत्तिजनक छ, अस्वीकार्य छ।’
थापाले लिपुलेक नेपालको भूमि भएको भन्दै नेपालको सार्वभौमसत्तामाथि कुठाराघात हुने कुनै पनि सम्झौता स्वीकार्य नहुने उल्लेख गरे। उनले यस विषयमा सरकारले चालेको कूटनीतिक पहललाई स्वागत गर्दै सबै दललाई समेटेर अघि बढ्न आग्रह पनि गरे।
‘नेपाल सरकारले चालेको पहलकदमीलाई हामी सकारात्मक रूपमा लिन्छौँ,’ उनले भने, ‘यसमा राष्ट्रिय सहमति बनाउँदै अघि बढ्नुपर्छ। हामी यसका लागि सरकारलाई साथ दिन तयार छौँ।’
महामन्त्री थापाले यो विषयलाई घरेलु राजनीति र प्रतिष्पर्धाको अस्त्र नबनाउन सबै दलहरूलाई आग्रह गरे। ‘हामी राजनीतिक रूपमा प्रतिस्पर्धी हौँ, तर राष्ट्रिय हितमा एकै ठाउँमा उभिनुपर्छ,’ उनले भने, ‘हाम्रा मतभेद आफ्नो ठाउँमा, तर यो विषयमा हामी एकजुट हुनैपर्छ।’
उनले उग्र राष्ट्रवादको भावनामा बहकिनुहुन पनि सचेत गराउँदै कूटनीतिक तरिकाबाट नेपालको हकहित सुनिश्चित गर्नुपर्नेमा जोड दिए।
Comment