काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत सिटि होटल लिमिटेडले पूँजी संरचना सुदृढीकरण र ऋण भुक्तानीको उद्देश्यसहित ८० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न लागेको छ। कम्पनीले हाल कायम १० कित्ता सेयर बराबर ८ कित्ता (१०:८ अनुपात) को दरले १ करोड ३३ लाख ९२ हजार कित्ता सेयर निष्काशन गर्दै १ अर्ब ३३ करोड ९२ लाख रुपैयाँ पूँजी संकलन गर्ने योजना बनाएको हो।
यस प्रयोजनका लागि कम्पनीले साउन २७ गते बुकक्लोज गरिसकेको छ। त्यसअघिसम्म (साउन २६ गतेसम्म) नेप्सेमा कारोबार भई कायम सेयरधनी रहेका लगानीकर्ताले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्नेछन्। आवेदन दिने अवधि भदौ २३ गतेदेखि असोज १२ गतेसम्म कायम गरिएको छ।
कम्पनीको हकप्रद निष्काशनमा केयर रेटिङ नेपालले (डबल बी माइनस) रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको जनाउँछ।
हकप्रद सेयरको निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड तोकिएको छ। लगानीकर्ताले प्रभु बैंकका इलाम, जाउलाखेल, वीरगञ्ज, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखाहरूबाट आवेदन दिन सक्नेछन्। साथै, सि–आस्बा प्रणाली मार्फत सहभागी बैंक तथा वित्तीय संस्थाहरू तथा मेरो सेयर अनलाइन पोर्टल मार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ।
हाल सिटि होटलको चुक्ता पूँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँ रहेको छ। हकप्रद निष्काशनपछि यो पूँजी ३ अर्ब १ करोड ३२ लाख रुपैयाँ पुग्नेछ। कम्पनीले संकलन हुने रकम मुख्यतः ऋण भुक्तानीमा प्रयोग गर्ने जनाएको छ। पूँजी मजबुत बनाउँदै वित्तीय दायित्व घटाउने उद्देश्यका साथ कम्पनीले यो हकप्रद सेयर निष्काशनको तयारी गरेको हो।
Comment