काठमाडौं । यातायात व्यवस्था ऐन २०४९ संशोधन गर्दै चालक अनुमतिपत्रको अवधि दोब्बर बनाएको छ ।
सरकारले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकमार्फत सवारी तथा यातायात व्यवस्था ऐनको दफा ५४ को उपदफा ३ मा परिवर्तन गरी लाइसेन्सको अवधि ५ वर्षबाट १० वर्ष कायम गरेको हो । नयाँ व्यवस्था कार्यान्वयनमा आएपछि अब जारी हुने तथा नवीकरण गरिने सवारी चालक अनुमतिपत्रहरू १० वर्षसम्म मान्य हुने छन् ।
यसअघि सवारी लाइसेन्सको अवधि ५ वर्ष मात्र थियो । नवीकरणको हकमा पनि हरेक पाँच–पाँच वर्षमा गर्नुपर्ने बाध्यता थियो । अब भने यो अवधि १० वर्ष कायम भएसँगै सेवाग्राहीले लाइसेन्स नवीकरणका लागि बारम्बार सेवा केन्द्र धाउनुपर्ने झन्झट कम हुने अपेक्षा गरिएको छ ।
साथै, संशोधित व्यवस्थाले सवारी जाँचपास (फिटनेस) तथा प्रदूषण परीक्षण जस्ता कार्यमा निजी क्षेत्रलाई समेत अनुमति दिने उल्लेख गरिएको छ । यसले सार्वजनिक सेवा प्रवाहमा दक्षता र पहुँच वृद्धि हुने विश्वास लिइएको छ ।
राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले यस सम्बन्धमा जानकारी दिएको हो । संशोधित ऐन अब कार्यान्वयनमा आएपछि यसको प्रभाव व्यावहारिक रूपमा देखिनेछ ।
Comment