साइबर सुरक्षालाई प्राथमिकता दिँदै सेबोनको नयाँ आईटी नीति लागू

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले पूँजी बजारमा सूचना प्रविधिको सुरक्षित प्रयोग, साइबर जोखिम न्यूनीकरण तथा डिजिटल पूर्वाधारको विश्वसनीयता कायम गर्ने उद्देश्यसहित नयाँ सूचना प्रविधि (आईटी) नीति कार्यान्वयनमा ल्याएको छ।

बुधबारदेखि लागू भएको नीतिले धितोपत्र बजारसँग सम्बन्धित संस्था तथा प्रणालीको डिजिटल सुरक्षा, प्रविधिमा एकरूपता र विपद्को अवस्थामा सेवा पुनः सञ्चालनलाई विशेष प्राथमिकता दिएको छ।

गत असोज ५ गते डेटा सेन्टरमा भएको र्‍यान्समवेयर आक्रमणका कारण सेयर बजारको कारोबार नै रोक्नुपर्ने अवस्था सिर्जना भएपछि पूँजी बजारको डिजिटल पूर्वाधारमा रहेका जोखिम उजागर भएका थिए। उक्त घटनाबाट पाठ सिक्दै बोर्डले साइबर सुरक्षा व्यवस्थालाई थप मजबुत र व्यवस्थित बनाउन नयाँ नीति ल्याएको हो।

नयाँ नीतिअनुसार सेयर कारोबार, राफसाफ तथा फर्स्यौट प्रणाली, केन्द्रीय निक्षेप प्रणाली र डिजिटल अभिलेखको सुरक्षाका लागि अन्तर्राष्ट्रिय अभ्यासअनुरूप विपद् पुनःप्राप्ति संयन्त्र विकास गर्नुपर्नेछ। कुनै प्राविधिक समस्या वा साइबर आक्रमणका कारण प्रणाली प्रभावित भए पनि तथ्याङ्क सुरक्षित राख्दै सेवा पुनः सञ्चालन गर्न सकिने व्यवस्था मिलाइनेछ।

त्यस्तै, बोर्डबाट अनुमति प्राप्त बजार सञ्चालक, व्यवसायी, संस्था तथा कोषहरूले प्रयोग गर्ने सूचना प्रविधि प्रणालीमा एकरूपता कायम गर्न न्यूनतम आईटी मापदण्ड निर्धारण गरिनेछ। सम्बन्धित सबै संस्थाले उक्त मापदण्ड अनिवार्य रूपमा पालना गर्नुपर्नेछ।

साइबर सुरक्षालाई प्रभावकारी बनाउन सम्बन्धित संस्थाले अन्तर्राष्ट्रिय मापदण्डअनुसार आईएसओ तथा आईईसी २७००१ प्रमाणीकरण लिनुपर्ने व्यवस्था पनि नीतिमा समेटिएको छ। साथै, प्रत्येक वर्ष प्रणालीको सुरक्षा कमजोरी पहिचान गर्न भल्नरेबिलिटी असेसमेन्ट तथा पेनिट्रेसन टेस्टिङ र नियमित सिस्टम अडिट गर्नुपर्नेछ।

बाह्य कम्पनीबाट सूचना प्रविधिसम्बन्धी सेवा लिने प्रक्रियालाई पनि नीतिले व्यवस्थित गरेको छ। सेवा प्रदायकसँग गरिने सम्झौतामा सेवा स्तर सम्झौता, तथ्याङ्कको सुरक्षा तथा गोपनीयता, जिम्मेवारी र दायित्व, लेखापरीक्षण तथा निरीक्षणको अधिकार र सम्झौता अन्त्य गर्दाको बहिर्गमन रणनीति अनिवार्य गरिनेछ।

साइबर घटनाको पहिचान, अनुगमन तथा व्यवस्थापनका लागि एकीकृत साइबर घटना प्रतिवेदन पोर्टल स्थापना गर्ने योजना पनि अघि सारिएको छ। बजारसँग सम्बन्धित संस्थामा साइबर आक्रमण वा अन्य सुरक्षा समस्या देखिएमा उक्त पोर्टलमार्फत अनिवार्य रूपमा जानकारी गराउनुपर्नेछ।

यसैगरी, पूँजी बजारका महत्त्वपूर्ण पूर्वाधार तथा व्यवसायीहरूले व्यवसाय निरन्तरता योजना र विपद् पुनरुत्थान योजना तयार गर्नुपर्नेछ। यसले प्राविधिक समस्या वा विपद्का कारण सेवा प्रभावित भए पनि बजार सञ्चालनलाई निरन्तरता दिन सहयोग पुग्ने बोर्डको अपेक्षा छ।

बोर्डले आफ्नै संस्थागत कार्यप्रणालीलाई डिजिटल रूपान्तरण गर्ने उद्देश्यले ई–सेबोनको अवधारणा पनि अघि बढाएको छ। साथै, डेटा सुरक्षालाई थप प्रभावकारी बनाउन बजार पूर्वाधार संस्था तथा सहभागी संस्थाको सहकार्यमा साझा डेटा सेन्टर स्थापना गर्ने योजना नीतिमा समेटिएको छ।

सूचना प्रविधिसम्बन्धी जनशक्तिको क्षमता विकास, उपलब्ध स्रोतसाधनको प्रभावकारी उपयोग तथा प्रविधिमा आधारित सेवा विस्तारलाई समेत नीतिले प्राथमिकता दिएको छ। यसका लागि आवश्यक तालिम, अध्ययन तथा अवलोकन भ्रमणको व्यवस्था गर्ने प्रस्ताव गरिएको छ।

नयाँ आईटी नीतिको कार्यान्वयनसँगै नेपालको पूँजी बजारमा साइबर सुरक्षा मजबुत हुनुका साथै प्रविधिजन्य जोखिम न्यूनीकरण, तथ्याङ्कको सुरक्षा र बजार सञ्चालनको निरन्तरतामा सुधार आउने अपेक्षा गरिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुक र ट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।