काठमाडौँ महानगरको छात्रवृत्ति परीक्षामा १० हजार विद्यार्थी उत्तीर्ण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं महानगरपालिकाले कक्षा ११ र १२ का लागि सञ्चालन गरेको छात्रवृत्ति परीक्षाको नतिजा सार्वजनिक गरेको छ।

शनिबार सम्पन्न परीक्षामा सहभागी भएका १४ हजार १७३ विद्यार्थीमध्ये १० हजार ८६७ जना विद्यार्थी उत्तीर्ण भएका छन्। महानगरका सूचना अधिकारी नुरनिधि न्यौपानेका अनुसार, तीमध्ये करिब ४ हजार ४९९ जनाले छात्रवृत्तिको अवसर प्राप्त गर्ने अनुमान गरिएको छ।

संकाय अनुसार फरक–फरक कोटा तोकिएकोमा शिक्षा संकायमा २५ कोटामध्ये १९ जना, मानविकीमा ११९ कोटामध्ये ६ जना, कानुन संकायमा १०५ कोटामा १३५ जना, व्यवस्थापनमा २ हजार ३१९ कोटामा १ हजार ९५७ जना तथा विज्ञान संकायमा १ हजार ९३१ कोटामा ८ हजार ७५० जना विद्यार्थी उत्तीर्ण भएका छन्। विज्ञान संकायमा छात्रा ३ हजार २८८, छात्र ५ हजार ४६० र २ जना अन्य छन्।

उत्तीर्ण विद्यार्थीहरूले काठमाडौं महानगर क्षेत्रभित्रका १६१ वटा निजी विद्यालयमध्ये आवेदन फारम भर्दा प्राथमिकतामा राखिएको विद्यालयमा पूर्ण छात्रवृत्तिमा अध्ययन गर्न पाउनेछन्। पढ्नका लागि विषय पनि आवेदन भर्ने बेलामा नै छनोट गरिएको विषयअनुसार हुनेछ।

नतिजामा चित्त नबुझेका विद्यार्थीहरूले साउन ५ गतेसम्म पुनर्योग गर्न सक्नेछन्। पुनर्योगको नतिजा प्रकाशित भएपछि मात्र छात्रवृत्तिका लागि योग्य विद्यार्थीहरूको नामांकन सूची सार्वजनिक गरिनेछ। पहिलो चरणमा नाम परेको विद्यार्थीले तीन दिनभित्र विद्यालयमा भर्ना हुनुपर्नेछ। यदि उनीहरूले तोकिएको समयमा भर्ना नगरेको खण्डमा बाँकी सिटका लागि दोस्रो चरणको नामांकन प्रक्रिया सुरु हुनेछ। दोस्रो चरणपछि पनि सिट खाली रहेमा विषय परिवर्तन गर्न चाहने विद्यार्थीलाई समावेश गरिनेछ।

काठमाडौं महानगरपालिकाले निजी विद्यालयमा अध्ययन गर्न सक्ने अवस्था नभएका प्रतिभाशाली विद्यार्थीलाई गुणस्तरीय शिक्षामा पहुँच दिलाउन छात्रवृत्ति परीक्षा हरेक वर्ष सञ्चालन गर्दै आएको छ।

 

 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।