काठमाडौं । ची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा चिया निर्यातमा उल्लेखनीय वृद्धि भएको जानकारी दिएको छ। कार्यालयका अनुसार साउनदेखि जेठसम्ममा तीन अर्ब ८६ करोड ६४ लाख ७८ हजार रुपैयाँ बराबरको चिया निर्यात भएको छ, जुन गत वर्षको सोही अवधिको तुलना गर्दा ४० दशमलव ५० प्रतिशतले वृद्धि हो।
मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईले चालु आर्थिक वर्षको ११ महिनामा १४ हजार ४६३ दशमलव ३३ मेट्रिकटन चिया निर्यात भएको बताए। गत आर्थिक वर्ष २०८०/८१ को सोही अवधिमा दुई अर्ब ७५ करोड २८ लाख ३२ हजार रुपैयाँ बराबरको चिया निर्यात भएको थियो।
तर, चालु आवको जेठ मसान्तसम्म अलैँची निर्यातमा तीन दशमलव ८० प्रतिशतले कमी आएको छ। चालु आवको ११ महिनामा सात अर्ब १८ करोड १० लाख ७३ हजार रुपैयाँ बराबरको अलैँची निर्यात भए पनि गत आवको सोही अवधिमा सात अर्ब ४६ करोड ६८ लाख ७६ हजार बराबरको अलैँची निर्यात भएको थियो।
त्यस्तै, निर्यात हुने अन्य मुख्य वस्तुहरूमा भेनियर सिटमा ६७ प्रतिशत, फलामेपातामा ९ दशमलव ६ प्रतिशत, प्लाइउडमा ११ दशमलव ६० प्रतिशत र मोलासिसमा ४०० दशमलव ५० प्रतिशतले वृद्धि भएको छ। यस्तै, सिमेन्ट क्लिङ्कर १२ दशमलव ६० प्रतिशत, अदुवा ५९ दशमलव ७० प्रतिशत, अम्रिसो १५ दशमलव दुई प्रतिशत र छुर्पी निर्यातमा सात दशमलव सात प्रतिशतले कमी आएको छ।
मेची भन्सार कार्यालयका तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको ११ महिनामा कुल २३ अर्ब २८ करोड ३५ लाख ५६ हजार रुपैयाँ बराबरको मालवस्तु निर्यात भएको छ।
Comment