काठमाडौं । हाल कोशी, मधेश, बागमती तथा गण्डकी प्रदेशका केही भू-भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ । देशको पश्चिम भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
आज दिउँसो देशभर बदली रहनेछ । सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी देखि धेरै भारी वर्षा पनि हुन सक्ने महाशाखाले जनाएको छ ।
देशका केही नदीमा आज पनि पानीको बहाव बढ्ने सम्भावना छ । भोजपुर, संखुवासभा, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, सिन्धुली, खोटाङ, गोरखा, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी, नवलपुर, पाल्पा र रुपन्देहीमा महाशाखाले बाढीको मध्यम जोखिम औँल्याएको छ ।
पाँचथर, तेह्रथुम, ओखलढुंगा, ताप्लेजुङ, धनकुटा, काभ्रे, मकवानपुर, काठमाडौं, नवलपुर पश्चिम, अर्घाखाँची, बाँके, दाङ, प्युठान, जाजरकोट, बैतडी, दार्चुला, बझाङ, डोटी र डडेलधुरा भई बहने अधिकांश साना नदीमा पनि बहाव सामान्य बढ्ने पूर्वानुमान छ । नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
Comment