सिमकोट। हुम्लाको सर्केगाड गाउँपालिका–३ स्थित उनापानीको औल बस्तीमा आगलागी हुँदा आठ घर नष्ट भएका छन्। गएराति स्थानीयवासी विर्ख रावतको घरको गोठबाट शुरु भएको आगलागी आज बिहानसम्म नियन्त्रणमा आएको छैन।
आगलागीबाट आठवटा घर जलेर पूर्ण नष्ट भएको स्थानीय धनबहादुर रावतले जानकारी दिए। सर्केगाड प्रहरी चौकीका प्रहरी निरीक्षक सुविन शाहको नेतृत्वको टोली राति नै घटनास्थलमा पुगेर अहिले आगो नियन्त्रणमा ल्याउने प्रयास गरिरहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलले बताए।
आगलागीबाट विजन फडेरा, धनबहादुर रावत, जनक रावत, विर्ख रावत, पाले फडेरा, लालकौरा फडेरा, दुधशिला फडेरा, बाटुल्ली फडेराको घर जलेर नष्ट भएका बताइएको छ। आगलागीबाट घरमा भएका अन्नपात, भाँडाकुँडा, लिउ फेरुवा, नागरिकता, घरको लालपुर्जा, अन्य कागजातसहित घरमा भएको नगद जलेर नष्ट भएको छ पीडित धनबहादुरले बताए । आगलागीबाट मानवीय क्षति कुनै भएको छैन् । सबै आगो नियन्त्रणमा आइसकेपछि मात्र क्षतिको विवरण आउने प्रहरीले जनाएको छ।
Comment