काठमाडौँ । चिनियाँ अटो निर्माता चांगान अटोमोबाइलको न्यु इनर्जी भेहिकल ब्रान्ड ‘दिपल’ ले विश्वभर ५ लाख युनिट इभी डेलिभरी गरेको छ। कम्पनीले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार, गएको मे महिनामा मात्र दिपलका २५ हजार ५२१ युनिट गाडी बिक्री भएका छन्, जुन अघिल्लो वर्षको मे महिनाको तुलनामा ७८ प्रतिशत र यस वर्षको अप्रिलको तुलनामा २७ प्रतिशतले बढी हो।
हाल दिपल ब्रान्ड अन्तर्गत SL03, S07, G318, L07, S05 र S09 गरी छ मोडेल बजारमा उपलब्ध छन्। यसमध्ये, पछिल्लो समय सार्वजनिक गरिएको S09 मोडेल कम्पनीको नयाँ फुल-साइज इलेक्ट्रिक एसयूभी हो, जसलाई औपचारिक रूपमा मे २२ मा सार्वजनिक गरिएको हो।
६ सिट क्षमताको दिपल S09 पाँचवटा ट्रिम भेरियन्टमा उपलब्ध छ। यसमा हार्मोनी स्पेस ५ स्मार्ट ककपिट सिस्टम प्रयोग गरिएको छ, जुन पहिलोपटक S09 मा समावेश गरिएको हो। यसमा १६ः९ एस्पेक्ट रेसियोसहितको २१.४ इन्चको ३के सिलिङ माउन्टेड रियर इन्टरटेन्मेन्ट सिस्टम छ, जसलाई ० देखि ७५ डिग्रीसम्म झुकाउन सकिन्छ।
इन्फोटेन्मेन्ट सिस्टममा डाइनामिक पानोरामिक साउन्ड, किड्स एक्सक्लुसिभ असिस्टेन्ट, कस्टमाइजेबल सिन ब्लक्स, र स्पासियल म्याजिक क्युबजस्ता सुविधा उपलब्ध छन्। साथै, यसमा हुवावेले विकास गरेको ‘कियान कुन’ इन्टेलिजेन्ट ADAS 3.3 ड्राइभिङ असिस्टेन्ट सिस्टम प्रयोग गरिएको छ।
कम्पनीले S09 मा यस वर्षको अन्त्यसम्म ADAS 4 मा अपग्रेड गर्ने योजना रहेको जनाएको छ। डब्लुईडब्लुए (WWA) आर्किटेक्चरमा आधारित नयाँ सिस्टमले ड्राइभिङ अनुभवलाई अझ सहज बनाउने दावी गरिएको छ। कम्पनीका अनुसार, ADAS 4 प्रणालीले ल्याटेन्सी ५० प्रतिशतले घटाउने, ट्राफिक इफिसेन्सी २० प्रतिशतले बढाउने र हार्ड ब्रेकिङ फ्रिक्वेन्सी ३० प्रतिशतले कम गर्नेछ।
दिपलको तीव्र बिक्री वृद्धि र प्राविधिक नवप्रवर्तनले यसलाई विश्व इभी बजारमा द्रुत गतिमा उक्लिँदै गरेको संकेत गरेको छ।
Comment