काठमाडौं । वैदिक सनातन धर्मावलम्बीले आज आ-आफ्नो घरको मठमा तुलसीको दल (बिउ) राख्दै छन् । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको दल राख्ने गरिन्छ । यस दिनलाई निर्जला एकादशी पनि भनिन्छ । यस दिन रोपेको बीउ एक महिनापछि आषाढ शुक्ल एकादशी अर्थात हरिशयनी एकादशीका दिन रोपिन्छ । आषाढ शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा गरिन्छ । यसलाई तुलसी हुर्काई बढाई दामोदरसँग विवाह गरिने भन्ने पनि बुझिन्छ । आयुर्वेदिकरूपमा पनि लाभकारी औषधि मानिने तुलसी विभिन्न रोगको उपचारमा प्रयोग गरिन्छ । तुलसीमा धेरै अक्सिजन पाइने आधुनिक विज्ञानले प्रमाणित गरेको छ ।
हिन्दु पद्धतीमा एकादशी व्रत सबैभन्दा बढी प्रचलित व्रत मानिन्छ । वर्षमा चौबिस एकादशी आउँछ । यद्यपि सबै एकादशीमध्ये जेष्ठ शुक्ल एकादशी सबैभन्दा बढी फलदायी वा महत्वपूर्ण मानिन्छ ।
निर्जला एकादशीको व्रत एकदमै संयम साध्य हो । यस युगमा यो व्रत सम्पूर्ण सुख भोग र अन्तमा मोक्ष भनिएको छ । कृष्ण पक्ष र शुक्ल पक्ष दुबै पक्षको एकादशीमा अन्न मात्र होइन पानी सेवन गर्नु समेत बर्जित छ । त्यसैले त यसलाई निर्जला एकादशी भनिएको हो ।
के छ विधी ?
इच्छुक पुरुष वा महिला जो कोहीले यो व्रत लिन सक्छन् । शारीरिक समस्या भएकाहरु वा औषधि सेवन गरिरहेका, रोगी, सुत्केरी, गर्भवती वा बुढाबुढी बाहेकले निर्जला एकानशी व्रत बस्नु उपयुक्त हुन्छ । व्रत अवधीभर अन्न वा पानी सेवन गर्नु हुँदैन । विहान नुहाई–धुवाई गरेपछि शुद्ध भएर व्रत सुरु गर्नुपर्छ । व्रतमा पूजाआजा खासगरी भगवान विष्णको आरधाना गर्ने धार्मिक प्रचलन छ । जलपान निषेध भएपनि फलहार र दुध सेवन गर्न भने सकिन्छ । यस दिन पूजाआजा गर्दै दान दिएमा लाभ मिल्ने धार्मिक विश्वास छ ।
Comment