गृहमन्त्रीलाई शेखर कोइरालाको सुझाव : राजीनामा दिएर छानबिनका लागि मार्ग प्रशस्त गर्नुस्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । भिजिट भिसा प्रकरणमा संगठित धन्दाको आरोप लागिरहेका गृहमन्त्री रमेश लेखकमाथि अब नेपाली कांग्रेसभित्रैबाट पनि राजीनामाको दबाब बढ्न थालेको छ। कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले गृहमन्त्री लेखकलाई राजीनामा दिएर छानबिनमा सघाउन आग्रह गरेका छन्।

शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले अध्यागमन विभागमा देखिएको भ्रष्टाचारको विषयमा सार्वजनिक चासो बढेको भन्दै, गृहमन्त्रीले नैतिकताको आधारमा पद त्याग गर्नु उपयुक्त हुने धारणा व्यक्त गरे।

“नैतिकताको हिसाबले म क्लिन छु, मैले राजीनामा गरेँ, अब तपाईंहरू छानबिन समिति बनाउनुस्, त्यो त मोरल स्ट्याटस हो,” कोइरालाले भने। उनले विगतमा पनि मन्त्रीहरूले राजीनामा दिएर छानबिनमा सहयोग गरेका उदाहरणहरू रहेको भन्दै गृहमन्त्री लेखकमाथि त्यही नैतिक मापदण्ड लागु हुनुपर्ने उल्लेख गरे।

कोइरालाले संवैधानिक निकायहरू सचिवहरूको ‘रिटायरमेन्ट क्लब’ जस्तो बन्न थालेको भन्दै कर्मचारीहरूको लागि कुलिङ पिरियड आवश्यक रहेको धारणा पनि राखे।

उनले थपे, “लोकतन्त्रको नाममा जनताको आवाज सुन्ने हो भने कांग्रेस, एमाले र माओवादी मिलेर हिन्दु राष्ट्र र संवैधानिक राजसंस्थाको विषयमा जनमत संग्रह गराउन हिच्किचाउनु हुँदैन।”

त्यस्तै, २०८२ मंसिरमै नेपाली कांग्रेसको महाधिवेशन हुनु पर्ने आफ्नो अडान पुनः दोहोर्‍याउँदै उनले कार्यकर्ताहरूलाई त्यसका लागि दबाब दिन पनि आग्रह गरे।

गृहमन्त्री लेखकमाथि भिजिट भिसा काण्डसँग जोडिएको संगठित आपराधिक आरोपको पृष्ठभूमिमा आएको कोइरालाको यो धारणा कांग्रेसभित्र शक्ति सन्तुलन र नेतृत्वको उत्तरदायित्वप्रति समेत संकेतको रूपमा हेरिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।