काठमाडौं । देशभर पश्चिमी वायु, स्थानीय वायुसँगै बंगालको खाडी र अरब सागरबाट आइरहेको जलवाष्पयुक्त हावाको प्रभावका कारण आज (शुक्रबार) पनि देशका धेरैजसो स्थानमा वर्षा र मौसम बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले आज बिहान ६ बजे जारी गरेको बुलेटिन अनुसार दिउँसोको समयमा कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने अन्य स्थानहरूमा मुख्यतया आकाश सफा रहने अपेक्षा गरिएको छ।
दिउँसो कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने अनुमान गरिएको छ।
राति पनि यस्तै मौसमी अवस्था रहनेछ। महाशाखाका अनुसार रातिको समयमा पनि ती प्रदेशहरू तथा बाँकी पहाडी क्षेत्रका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ।
मौसमविद्हरूका अनुसार, २४ घण्टामा १० मिलिमिटरभन्दा कम पानी पर्नु हल्का वर्षा, १० देखि ५० मिलिमिटर मध्यम, ५०–१०० मिलिमिटर भारी, १००–२०० मिलिमिटर धेरै भारी र २०० मिलिमिटरभन्दा बढी पानी पर्नु अति भारी वर्षा अन्तर्गत पर्छ।
यसैगरी “केही स्थान” भन्नाले सम्बन्धित भूभागको ५० प्रतिशत क्षेत्रमा, “थोरै स्थान” भन्नाले २५–३० प्रतिशत क्षेत्रमा र “एक–दुई स्थान” भन्नाले २५ प्रतिशतभन्दा कम क्षेत्रमा वर्षा हुन सक्ने संकेत हुन्छ।
महाशाखाले नागरिकहरूलाई सम्भावित वर्षा र चट्याङबाट सतर्क रहनुहुन अनुरोध गर्दै, विशेष गरी उच्च पहाडी क्षेत्रमा यात्रा गर्नेहरूका लागि आवश्यक सतर्कता अपनाउन सुझाव दिएको छ।
Comment