प्रधानमन्त्रीलाई ज्ञानेन्द्र शाहीको आग्रह : एयरपोर्ट गएर राजाको स्वागत गर्नुस्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत गर्न आग्रह गरेका छन्।

आइतबार सामाजिक सञ्जालमार्फत शाहीले कतारका राजालाई प्रधानमन्त्रीले स्वागत गर्न सक्ने तर नेपालका राजालाई किन नस्वागत गर्ने भन्दै प्रश्न गरेका छन्। उनले लेखेका छन्, ‘सम्माननीय प्रधानमन्त्रीज्यूलाई नै आज काठमाडौं एयरपोर्टमा गएर राजाको स्वागत गर्न हार्दिक अपिल र अनुरोध गर्दछु। कतारका राजालाई प्रधानमन्त्रीज्यूले स्वागत गर्न हुने, नेपालका राजालाई स्वागत गर्न किन नहुने? राजा सबैका साझा हुन्, प्रधानमन्त्री र राष्ट्रपतिका पनि राजा हुन्।’

शाहीले सरकारलाई जनताको इच्छा र आकाङ्क्षालाई बन्देज नगर्न चेतावनी पनि दिएका छन्। उनले देशमा व्यापक भ्रष्टाचार, युवा बेरोजगारी, उद्योग तथा कलकारखाना बन्दजस्ता समस्याहरू बढ्दै गएका कारण अब राजसंस्था पुनःस्थापना आवश्यक भएको धारणा व्यक्त गरेका छन्।

उनले अगाडि लेखेका छन्, ‘१६ वर्षमा देशमा लुटतन्त्र मच्चाएर अझै पुगेको छैन। गाउँगाउँमा छोटे राजाहरू छन्। ८० लाखभन्दा बढी युवाहरू विदेशमा काम गर्न बाध्य छन्। एक वर्षमा ७ लाखभन्दा बढी युवाहरू विदेश जान्छन्। उद्योग तथा कलकारखाना बन्द भए, निःशुल्क स्वास्थ्य शिक्षा जस्ता आधारभूत सेवा र सुविधाहरू पैसामा बिक्री भए। अदालत, प्रहरी, कर्मचारी, शिक्षक सबैलाई कार्यकर्ताको रूपमा प्रयोग गरियो। भ्रष्टाचारले सिङ्गो देश प्रभावित बनायो। अब भ्रष्टाचार अन्त्य गर्न र देशलाई सुधार गर्न राजसंस्था आवश्यक छ।’

शाहीको यो अभिव्यक्तिपछि सामाजिक तथा राजनीतिक वृत्तमा बहस सुरु भएको छ। पूर्वराजसंस्थाको भूमिकाबारे पुनः चर्चा हुन थालेको छ भने विभिन्न राजनीतिक दलहरूले यसबारे आ–आफ्नो धारणा सार्वजनिक गरिरहेका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।