काठमाडौं । पूर्वराजा आज पोखराबाट काठमाडौँ आउने अवसर पारेर राजावादीहरूले काठमाडौँमा शक्ति प्रदर्शनको तयारी गरेका छन्।
पछिल्लो केही समयदेखि पोखरामा बसेर गण्डकी प्रदेशका विभिन्न जिल्लाको भ्रमण गरिरहेका पूर्वराजा ज्ञानेन्द्र शाह आज दिउँसो काठमाडौँ आउन लागेका हुन् ।
यसै अवसरमा राजावादी दलहरू राप्रपा, राप्रपा नेपालसहित राजा फर्काउने अभियान चलाइरहेका दुर्गा प्रसाईले काठमाडौँमा संयुक्त रुपमा शक्ति प्रदर्शन गर्न लागेका छन् ।
फागुन ७ गते प्रजातन्त्र दिवसको पुर्व सन्ध्यामा पूर्वराजा ज्ञानेन्द्रले भिडियो सन्देश जारी गर्दै देश संकटमा परेकोले राष्ट्र बचाउन आफूलाई साथ दिन अपिल गरेपछि राजावादीहरू उत्साहित हुँदै आफ्नो अभियानलाई तीव्र बनाइरहेका छन् ।
पूर्वराजाको अपीलले राजवादीहरू हौसिएपछि सत्तारुढ र प्रतिपक्ष दलहरू पनि तरंगित हुँदैं पूर्वराजालाई चेतावनी दिइरहेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीदेखि प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले पूर्व राजालाई राजनीति गर्ने भए दल खोलेर चुनाव लड्न चेतावनी दिएका छन् ।
राजावादीहरूले गर्ने शाहको स्वागत कार्यक्रमलाई लिएर स्थानीय प्रशासनले सुरक्षा सतर्कता बढाएको छ । सुरक्षाकर्मीलाई ‘हाइ अलर्ट’मा राखिएको छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी शेखर खनालले सामान्य अवस्थाभन्दा बढी संख्यामा नेपाल प्रहरीका कर्मचारी खटाइएको बताए । उनका अनुसार ११ सयभन्दा धेरै प्रहरी सुरक्षाका लागि तैनाथ भएका छन् ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले भिडभाड तथा हुलहुज्जत हुनसक्ने स्थानहरूमा सोहीअनुसार सुरक्षा व्यवस्थापन गरिएको जानकारी दिए ।
Comment