काठमाडौं । नेपाली कांग्रेसका क्षेत्रीय सभापतिहरुको दुईदिने प्रशिक्षण कार्यक्रम आजदेखि रुपन्देहीको भैरहवामा सुरु भएको छ। पार्टी उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा रहेको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा प्रशिक्षण कार्यक्रम सञ्चालन भइरहेको हो।
कार्यक्रममा देशभरका ३३० जना प्रतिनिधिहरु सहभागी भएका छन्, जसमा क्षेत्रीय सभापतिहरु, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रका सभापतिहरु, तथा प्रशिक्षण शाखाका प्रमुखहरु रहेका छन्। लुम्बिनी प्रदेशका सांसद, मन्त्री, र जिल्ला सभापतिहरु पनि प्रशिक्षण कार्यक्रममा उपस्थित छन्।
प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमको उद्घाटन समारोहमा पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, पूर्व महामन्त्री कृष्ण सिटौला, विमलेन्द्र निधि, बालकृष्ण खाण, रमेश लेखक लगायत शीर्ष नेताहरु सहभागी छन्।
यसअघि कांग्रेसले माघ २२ र २३ गते पोखरामा ७७ वटै जिल्लाका सभापति, ७७ वटै जिल्लाका प्रशिक्षण शाखा प्रमुख तथा उपसभापतिहरुको लागि प्रशिक्षण कार्यक्रम आयोजना गरेको थियो। तर, सो कार्यक्रममा कांग्रेसको इतर समूहको नेतृत्व गरिरहेका डा. शेखर कोइरालालगायत केही नेताहरुलाई निमन्त्रणा नदिइएको कारण नेतृत्व आलोचनाको शिकार भएको थियो।
यसपटक भने पार्टीभित्रको एकता मजबुत पार्ने उद्देश्यले शेखर कोइरालालगायत अन्य नेताहरुलाई पनि प्रशिक्षण कार्यक्रममा समेटिएको छ। पार्टी नेतृत्वका अनुसार यस प्रशिक्षण कार्यक्रमबाट पार्टीका क्षेत्रीय नेतृत्वलाई सशक्त पार्ने तथा संगठनात्मक सुदृढीकरण गर्ने लक्ष्य राखिएको छ।
शेखर कोइराला नजाने
पोखरामा भएको कार्यक्रममा निम्तो नै नदिइएको शेखरलाई यसपटक भने निम्तो दिइएको उनका सहयोगी दिनेशचन्द्र थपलियाले जानकारी दिए।
‘चार दिनअघि पार्टी केन्द्रीय कार्यालयका एकजना कर्मचारीले टेलिफोन गरेर कार्यक्रमको बारेमा जानकारी गराउँदे सहभागिताका लागि निम्तो दिनुभएको थियो,’ उनले नेपालखबरसँग भने, ‘त्यसै पनि उहाँको पूर्वनिर्धारित कार्यक्रम तय भइसकेको छ। उहाँ भैरहवाको कार्यक्रममा जानुहुँदैन।’
थपलियाका अनुसार कोइराला आजै विराटनगर जाँदैछन्। उनी विराटनगरमै सुरु हुने विराटगोल्डकपको उद्घाटन समारोहमा सहभागी हुन जान लागेको उनले जानकारी दिए। भोलि पनि विराटनगरमै केही कार्यक्रमहरु तय भएको थपलियाको भनाइ छ।

Comment