पाइपलाइनबाट पेट्रोलियम आयात सुरु, प्राविधिक नोक्सानी शून्य हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बागमती । भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइनबाट नियमित आयात सुरु भएको छ ।

अन्तरदेशीय पेट्रोलियम पाइपलाइन विस्तारको काम सकिएपछि पाइपलाइनबाटै पेट्रोल, मट्टीतेललगायत पेट्रोलियम पदार्थको आयात सुरु भएको नेपाल आयल निगमको मधेस प्रादेशिक कार्यालय अमलेखगञ्जले जनाएको छ ।

पेट्रोलियम पाइपलाइन विस्तारको सम्पूर्ण काम सकिएको र केही दिनदेखि पाइपलाइनबाटै नियमित रुपमा पेट्रोलियम पदार्थ ल्याउन सुरु गरिएको नेपाल आयल निगम मधेस प्रदेश कार्यालय अमलेखगञ्जका प्रमुख प्रलयङ्कर आचार्यले जानकारी दिए ।

‘पाइपलाइनबाटै पेट्रोल र मट्टीतेल आइसकेको छु,’ प्रमुख आचार्यले भने, ‘अहिले पाइपलाइनबाट आयातित पेट्रोल नेपालको प्रमुख सहरका डिपोमा औपचारिक रुपमा वितरण थालिसकेका छौँ ।’

पाइलाइन विस्तार परियोजनाअन्तर्गत भारतीय आयल निगमले अमलेखगञ्जस्थित डिपोमा ४ हजार १०० किलोलिटर क्षमताका दुई पेट्रोल ट्याङ्क, २५० किलोलिटर क्षमताका दुई ट्रान्समिक्स ट्याङ्क, पेट्रोल ढुवानीका लागि २४ पूर्ण स्वचालित लोडिङ्ग वे–रिफिलर, पम्प हाउस र प्रयोगशाला निर्माण गरिएको प्रमुख आचार्यले बताए ।

सोही परियोजनाअन्तर्गत ‘फायर फाइटिङ सिस्टम’को स्तरोन्नति, पानी र तेल छुट्याउने ‘ओडब्ल्युएस सिस्टम’ तथा पिएमसिसी कक्षसमेत निर्माण गरिएको छ । सन् २०२३ भित्र सम्पूर्ण पूर्वाधार निर्माणसम्पन्न गर्ने गरी लिखिता इन्फ्रास्ट्रक्चर प्रालिलाई ठेक्का दिइएको थियो । विभिन्न कारणले केही दिनअघि मात्र सो पाइपलाइन विस्तारको काम सकिएको प्रमुख आचार्यले बताए ।

यस्तै, पेट्रोल र डिजेल दुवै हुन सक्ने मिश्रित इन्धन राख्नका लागि दुई ट्रान्समिक्स ट्याङ्क र डिपोभित्रको सुरक्षाका लागि ३ हजार किलोलिटर क्षमताको फायरवाटर ट्याङ्क भारतीय आयल निगमनले निर्माण गरिदिएको छ । परियोजनाअन्तर्गत पहिलो चरणको काम सम्पन्न भई गत २०७६ साल भदौ २५ गतेदेखि पाइपलाइनबाट डिजेलको आयात भइरहेको छ ।

‘एउटै पाइपलाइनबाट पेट्रोल र मट्टीतेल आयात गर्न सम्भव भए पनि भण्डारण गर्ने क्षमता नहुँदा ट्याङ्करबाटै पेट्रोलियम पदार्थ ल्याउनुपर्ने बाध्यता थियो,’ प्रमुख आचार्यले भने, ‘आयोजनाको काम सम्पन्न भएपछि पेट्रोल, डिजेल र मट्टीतेल गरी तीनवटै पदार्थको नियमित आयात पाइपलाइनबाटै हुन थालेको ।’

मोतिहारी-अमलेखगञ्ज पाइपलाइनबाट पेट्रोलियम पदार्थ आयात हुँदा प्राविधिक नोक्सानी शून्य हुने, ढुवानी भाडासमेत बचत हुने तथा वातावरणीय प्रदूषण कम गर्न सहयोग पुग्ने कार्यालय प्रमुख आचार्यको भनाइ छ ।

यो आयोजना निर्माणसम्पन्न भएसँगै अमलेखगञ्ज डिपोमा डिजेलको भण्डारण क्षमता २४ हजार ८४० किलोलिटर र पेट्रोलको भण्डारण क्षमता १६ हजार ६३० किलोलिटर पुग्नेछ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।