काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर वर्न अस्पतालमा उपचाररत उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।
आइतबार अपराह्न अस्पताल पुगेर प्रधानमन्त्री ओलीले मन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्।
शनिबार पोखरा भ्रमण वर्षको उद्घाटन गर्दा हाइड्रोजन भरिएको बेलुन पड्किएर आगो बल्दा उपप्रधानमन्त्री पौडेल र नगरप्रमुख आचार्य घाइते भएका थिए।
दुवैलाई शनिबार नै कीर्तिपुर अस्पताल ल्याएर उपचार गरिएको थियो। आइतबार प्रधानमन्त्री ओली पत्नी राधिका शाक्यसहित अस्पताल पुगेका थिए।
आइतबार नै पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र माधवकुमार नेपालले पनि उपप्रधानमन्त्री पौडेल र नगरप्रमुख आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए।
उनीहरुलाई अस्पतालका निर्देशक डा. किरणकिशोर नकर्मीलगायत उपचारमा संलग्न चिकित्सकले उपप्रधानमन्त्री पौडेल र नगरप्रमुख आचार्यको स्वास्थ्य अवस्था तथा उपचार प्रक्रियाबारे जानकारी गराएका थिए।
आजै प्रधानमन्त्री ओलीले कमलपोखरीस्थित शानदार मःमः सेन्टरमा ग्यास सिलिण्डर विस्फोटमा घाइते भई उपचाररतको स्वास्थ्य अवस्थाबारे पनि जानकारी लिएका थिए।
Comment