देशभर ९८ प्रतिशत रोपाइँ सम्पन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । यस वर्ष देशभर करिब ९८ प्रतिशत रोपाइँ सम्पन्न भएको छ। देशभर करिब १४ लाख हेक्टर जमिन धानखेतीका लागि उपयुक्त रहेकामा करिब १३ लाख ७२ हजार हेक्टर जमिनमा धान रोपाइँ सम्पन्न भएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ।

गत आर्थिक वर्ष साउनसम्म करिब ९० प्रतिशत मात्र रोपाइँ भएकामा चालू आर्थिक वर्षको साउनसम्म आठ प्रतिशतले बढेर रोपाइँ सम्पन्न भएको हो। यस वर्ष देशभर राम्रो वर्षा भएकाले पनि रोपाइँ पनि देशभर राम्रोसँग भएको जनाइएको छ। धानको उत्पादन बढ्ने प्रक्षेपण गरिएको मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिए।

उनका अनुसार सुदूरपश्चिम प्रदेशमा शतप्रतिशत धान रोपाइँ गरिएको छ भने कोशी प्रदेशमा अन्य प्रदेशभन्दा कम ९५ प्रतिशत रोपाइँ सम्पन्न भएको तथ्यांक छ। गत आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशमा ९९ प्रतिशत तथा मधेश प्रदेशमा सबैभन्दा कम ६० प्रतिशत रोपाइँ सम्पन्न भएको थियो।

आर्थिक वर्ष ०८०/८१ मा धान र चामल गरी २१ अर्ब ३४ करोडको आयात गरिएकामा आर्थिक वर्ष ०७९/८० मा रु. ३५ अर्ब ९० करोडको आयात गरिएको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा पछिल्लो आर्थिक वर्षमा करिब रु. १३ अर्बले आयात घटेको अभिलेख मन्त्रालयसँग छ। यस वर्ष करिब ६ प्रतिशतले धानको उत्पादन वृद्धि हुने अनुमान गरिएकाले आयात थप घट्ने प्रक्षेपण गरिएको मन्त्रालयका सूचना अधिकारी जोशीले जानकारी दिए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।