संघीय संसदको दुवै सदन आज, छलफलका विषय के—के ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । संघीय संसदको दुवै सदनको बैठक आजका लागि डाकिएको छ । सदन अवरोधका कारण मंगलबार सारिएको प्रतिनिधि सभाको बैठक आजबिहान ११ बजे बस्ने संसद सचिवालयले जनाएको छ । 

तर, नेपाली कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सहकारीको रकम अपलचनमा मुछिएको भन्दै उनीमाथि छानबिन गर्न संसदीय समिति गठन गनुपर्ने माग राख्दै आएको छ । कांग्रेसले संसदीय समिति गठन नगरे सभाको अवरोध नहटाउने स्पष्ट भनेको छ ।

मंगलबार पनि संसदीय समिति गठन गरिनुपर्ने माग राख्दै सदनमा कांग्रेस सांसदहरुले उभिएर विरोध जनाए । सदन अगाडि बढाउने स्थिति नभएपछि सभामुख देवराज घिमिरेले १५ मिनेटपछि बस्ने गरी स्थगित गरेको बैठक कांग्रेसले संसद् चल्न नदिने भएपछि सूचना टाँस गरेर आजका लागि सारिएको हो । 

बैठक सञ्चालनका लागि सभामुख घिमिरेले राजनीतिक दलका शीर्ष नेताबीचको मंगलबार बिहान छलफल गरे पनि कुनै निष्कर्षमा पुग्न सकेनन्। सदनको अवरोध हटाउन मंगलबार साँझ पनि प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष नेताबीच बैठक बस्यो। तर, सहमती जुट्न सकेन । 

कांग्रेसले आफ्नो अडान कायमै राख्दा आज पनि प्रतिनिधि सभा बैठक शुरु हुने,कांग्रेसले अवरोध गर्ने र सभामुखले बैठक रोक्नुपर्ने स्थिति बन्ने निश्चित जस्तै छ । बैठक बस्न सके उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरुको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीले उत्तर दिने, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले सुरक्षण मुद्रण सम्बन्धी विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८० पेश गर्ने, अर्थ मन्त्री वर्षमान पुनले बैङ्क तथा वित्तीय संस्था सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेलगायतका कार्यसूची राखिएको छ । 

यस्तै, राष्ट्रिय सभाको बैठक पनि आजै बस्दै छ । बैठकले आज सभाको उपाध्यक्ष निर्वाचनमार्फत चयन गर्ने सम्भावित कार्यसूचीमा राखिएको छ । राष्ट्रिय सभा सदस्य दुर्गा गुरुङ र भगवती न्यौपानेले क्रमश विष्णु देवी पुडासैनी र विमला घिमिरेलाई उपाध्यक्ष पदमा निर्वाचित गरियोस भन्ने प्रस्ताव सभा समक्ष पेश गर्नेछन् । उक्त प्रस्तावलाई अध्यक्ष नारायण दाहालले निणर्याथ प्रस्तुत गर्ने संसद सचिवालयको कार्यसूचीमा उल्लेख छ । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।