बालकुमारी घटना : पीडित पक्ष र सरकारबीच चारबुँदे सहमति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ललितपुरको बालकुमारीमा शुक्रबार भएको प्रदर्शनमा मृत्यु भएका व्यक्तिका परिवार र सरकारबीच चारबुँदे सहमति भएको छ ।

गृहमन्त्रालयमा आज भएको छलफलपछि सरकार र पीडित पक्षबीच मृतकका परिवारका ११ जना सदस्यलाई उपयुक्त खालको रोजगारी यथाशीघ्र उपलब्ध गराउने सहमति भएको हो ।

दुई पक्षबीच सरकारले उपलब्ध गराउने राहतका अतिरिक्त थप राहत उपलब्ध गराउनका लागि यथाशीघ्र आवश्यक सहजीकरण गर्ने, मृतकलाई शहीद घोषणाका लागि पहल गर्ने, मृतकका परिवारले आजै शव बुझिलिने र शव सम्बन्धित जिल्लामा पुर्याउन गृह मन्त्रालयले पहल गर्ने सहमति भएको छ ।

सो सहमतिमा सरकारका तर्फबाट गृह मन्त्रालयका उपसचिव उमाकान्त अधिकारी र मृतक परिवारका तर्फबाट टेकबहादुर शाह र टेकबहादुर कटुवालले हस्ताक्षर गरेका छन् ।

बालकुमारीस्थित रोजगार अनुमति प्रणाली (इपिएस) कोरिया शाखा कार्यालयमा परीक्षा फाराम भर्ने विषयलाई लिएर भएको प्रदर्शनका क्रममा शुक्रबार अछाम चौरपाटी गाउँपालिका-१ का वीरेन्द्र शाह र दैलेख महाबु गाउँपालिका-६ का सुजन राउतको मृत्यु भएको थियो ।

सरकारले आजै उक्त घटनाको निष्पक्ष र वस्तुगत छानबिनका लागि उच्च अदालतका पूर्वन्यायाधीश शेखर पौडेलको अध्यक्षतामा पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक अरुण विसी र गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराई सदस्य रहेको जाँचबुझ आयोग गठन गरेको थियो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।