काठमाडौं । घोराही सिमेन्ट इन्डष्ट्री लिमिटेडको प्राथमिक साधरण सेयर (आइपीओ) किन्ने लगानीकर्ता घाटामा गएका छन् । पछिल्लो समय कम्पनीको सेयर मूल्य लगातार घटेर आइपीओको मूल्यभन्दा तल झरेपछि सेयर लगानीकर्ता घाटामा गएका हुन्।
प्रिमियम मूल्यमा सेयर जारी गरेको घोराहीले प्रतिकित्ता ४३५ रुपैयाँमा आइपीओ बिक्री गरेको थियो । तर, बिहीबार कम्पनीको सेयर मूल्य घटेर ४३४.८० रुपैयाँमा झरेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । आजै कम्पनीको सेयर मूल्य ४३० रुपैयाँसम्म झरेको थियो ।
कम्पनीको सेयर गत साउन २८ गतेदेखि कारोबारमा आएको थियो । प्रतिकित्ता ५६५.५० रुपैयाँमा कारोबार खुलेको कम्पनीको सेयर मूल्य बढेर ५८१.४० रुपैयाँसम्म पुगेको थियो । त्यसयता लगातार घट्न थालेको कम्पनीको सेयर मूल्य आइपीओभन्दा सस्तो भएको हो ।
कम्पनीको नेप्सेमा साधरणतर्फ कुल ७९ लाख ४३ हजार ८०१ कित्ता सेयर सूचीकृत छ ।
Comment