काठमाडौं । हेटौंडामा तेस्रो ‘बाल कला–साहित्य महोत्सव’ हुने भएको छ।
नवोदय शिशु सदन विद्यालय, हेटौंडा स्कूल अफ म्यानेजमेन्ट र काठमाडौँ पब्लिकेशनको आयोजनामा आगामी माघ २७ र २८ गते नवोदय प्राङ्गणमा महोत्सव हुन लागेको हो।
महोत्सवमा कलाकार मदनकृष्ण श्रेष्ठ, पाकिस्तानी लेखक, कलाकार तथा शिक्षाविद् रुमना हुसेन, भारतीय लेखक, वृत्तचित्र निर्देशक समिना मिश्र, बाल साहित्यकार अनुराधा, नाटककार अशेष मल्ल सहभागी हुनेछन्।
सिर्जनात्मक पठन संस्कृतिको विकास गराउने र त्यसप्रति रुचि जगाउने उद्देश्यले कार्यक्रमको आयोजना गर्न लागिएको आयोजकले जनाएको छ। महोत्सवमा हेटौंडा उप–महानगरपालिका, प्याब्सन मकवानपुर, सर्जक सञ्जाल मकवानपुर, बुक ल्याण्ड, नेपाल बालसाहित्य समाज, सिर्जनालय, कारखाना, बाल उदयको सहकार्य रहने छ।
महोत्सवमा शिक्षक, कलाकार तथा साहित्यकारबाट कला–साहित्यका विभिन्न विधामा कार्यशाला सञ्चालन गरिने छ।
कार्यक्रममा प्यानल डिस्कसनका साथै कला संस्कृति झल्कने पञ्चे बाजा, माझी बाजा, धिमे बाजा, सारङ्गी, खैंजडी बाजा, लाखे नाच, नेवारी बाँसुरी तथा मारुनी नृत्य, थारु नृत्य, नेवारी नृत्य पनि छन्।
त्यस्तै, विभिन्न खाना स्टल, पुस्तक प्रदर्शनी, आत्मकथा वाचन, चित्र प्रदर्शनी, रोबोर्टिक्सजस्ता अन्य स्टल रहने छन्।
Comment