काठमाडौं । कोरोना भाइरस (कोभिड—१९) निको भएर फर्किएका ३ जनामा पुनः कोरोना भाइरस पोजेटिभ रिपोर्ट आएको छ ।
स्वास्थ्य मन्त्रालय स्रोतकाअनुसार कोरोना निको भएर डिस्चार्ज भएका तीनै जनामा एक हप्तापछि फ्लोअप परीक्षण गर्दा पुनः कोरोना पोजेटिभ देखिएको हो । शुक्रबार निको भएर पाटन अस्पतालबाट डिस्चार्ज भएका पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्ट बस्ने एक ५८ वर्षीय पुरुष र वीरगन्जस्थित नारायणी अस्पतालबाट निको भएर डिस्चार्ज भएका रौतहटका एक १९ वर्षीय युवक र वीरगन्जमा जमाती आएका एक भारतीय नागरिकको कोरोना रिपोर्ट पुनः पोजेटिभ आएको हो ।
उनीहरु सबै नियमित प्रक्रियामा एक हप्तापछि अस्पतालमा फ्लोअपका लागि पुगेका हुन् । ‘उनीहरुमा कुनै लक्षण देखेर अस्पताल पुगेका होइनन्, एक हप्तापछि नियमित फ्लोअपमा आउँदा स्वाब परीक्षण गर्दा कोरोना पुनः पोजेटिभ देखिएको हो,’ मन्त्रालय स्रोतले भन्यो, ‘तर, उनीहरुमा देखिएको भाइरस एक्टीभ हो वा प्यासीभ अहिले त्यो भन्न सकिने अवस्था छैन् ।’ नेपालमा भाइरसको कल्चर परीक्षण नहुने हुँदा अहिले त्यो एक्टीभ हो वा प्यासिभ हो भनेर छुटाउने सकिएको छैन् । तीन जनामा पुनः कोरोना पोजेटिभ देखिएपछि उनीहरुलाई आइसोलेसनमा राखेर पुनः उपचार थालिएको छ ।





Comment