‘बीमा कम्पनीहरूको चुक्ता पूँजी वृद्धिको निर्णय सबैको हितमा आएको छ’- अध्यक्ष सिलवाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीहरूको चुक्ता पूँजी वृद्धिको निर्णय सबैको हितमा ल्याइएको बताएका छन् । 

बीमा समितिको कार्यालयमा बीमा कम्पनीहरूका संचालक समितिका अध्यक्षहरूसँग समयसामयिक विषयमा  भएको छलफल उक्त कुरा बताएका हुन् । 

बीमा कम्पनीहरूलाई बलियो बनाउने, प्रशासनिक लागत घटाउने, सेवाको गुणस्तर बढाउने र बीमाप्रतिको जनविश्वास अभिवृद्धि गर्ने उद्देश्यले बीमा कम्पनीहरूको चुक्ता पूँजी बृद्धि गर्ने निर्णय गरिएको बताए । 

सिलवालले धेरै लामो गृहकार्य गरेर बीमा कम्पनीहरूको चुक्ता पूँजी वृद्धि गर्ने निर्णय गरिएको स्पष्ट पारे । 

‘बीमा कम्पनीहरूको पूँजी कम छ, कम्पनीहरूको मुनाफा घट्दो छ भने प्रशासनिक लागत बढ्दो छ, बीमाको दायरा बढ्दै गएको छ, कम्पनीहरूको दक्षता बढ्न सकेको छैन’ अध्यक्ष सिलवालले भने, ‘बीमा कम्पनीलाई बलियो बनाउने कार्यको यो शुरूवात हो, पूँजी वृद्धिको योजना धेरै अगाडि देखिको हो ।

पूँजी पुर्याउन नसके मर्जरमा जानुपर्छ, कम्पनीको महत्वपूर्ण आधार भनैकै पूँजी हो, यो सबैको हितमा आएको छ र यसमा केही अप्ठ्यारो परे त्यो फुकाउन समिति तयार छ ।’

अध्यक्ष सिलवालले समितिले नयाँ जीवन तथा निर्जीवन कम्पनीहरू दर्ता नगर्ने भन्दै तोकिएको अवधिभित्र चुक्ता पूँजी वृद्धिको योजना ल्याउन र तोकिएको पूँजी पुर्याउन नसके मर्जरमा जान बीमा कम्पनीहरूलाई आग्रह गरे ।

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा कम्पनीहरूले प्रस्तुत गर्ने चुक्ता पूँजी वृद्धिको योजनामाथि छलफल गरेर देखिएका अप्ठ्यारा फुकाउन समिति तत्पर रहेको बताए ।

बीमा समितिले गरेको चुक्ता पूँजी वृद्धिको निर्णय पालना गर्न आफूहरू तयार रहेको बताउँदै बीमा कम्पनीहरुका सञ्चालकहरुले पूँजी वृद्धिमा समस्या परे त्यसको समाधान गर्न अभिभावकका रूपमा बीमा समिति तयार हुनु पर्ने बताए ।

कार्यक्रममा बीमा समितिका निर्देशकहरू सुशीलदेव सुवेदी, पूजन ढुङ्गेल (अधिकारी) र दिनेश कुमार लाल लगायत सहभागी  रहेका थिए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।