काठमाडौं । राजकुमार राव र श्रद्धा कपुर अभिनीत चर्चित हरर–कमेडी फिल्म ‘स्त्री’ को तेस्रो शृंखलाको नयाँ रिलिज मिति तय भएको छ। ‘स्त्री–३’ अब सन् २०२८ मा प्रदर्शन हुने भएको छ।
यसअघि फिल्म सन् २०२७ को अगस्टमा रिलिज गर्ने घोषणा गरिएको थियो। भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार निर्माता दिनेश विजनले ‘स्त्री–३’ को कथा लेखन पूरा भइसकेको र फिल्म सन् २०२८ मा दर्शकमाझ आउने जानकारी दिएका छन्।
फिल्मका निर्देशक अमर कौशिकले यसको कथा लेखेका हुन्। निर्माता विजनका अनुसार कौशिकले अहिले ‘महावतार’ को काम पूरा गर्नेछन्। त्यसपछि सन् २०२७ को अन्त्यतिर ‘स्त्री–३’ को छायांकन सुरु गर्ने तयारी छ।
फिल्मलाई सन् २०२८ को स्वतन्त्रता दिवस वा क्रिसमसको अवसर पारेर प्रदर्शन गर्ने सम्भावना रहेको विजनले बताएका छन्।
सन् २०१८ मा प्रदर्शनमा आएको ‘स्त्री’ हरर र कमेडीको मिश्रणका कारण चर्चामा आएको थियो। राजकुमार राव र श्रद्धा कपुर मुख्य भूमिकामा रहेको फिल्मले दर्शकमाझ लोकप्रियता हासिल गरेको थियो।
यसको दोस्रो भाग ‘स्त्री २’ सन् २०२४ मा प्रदर्शन भएको थियो। फिल्मले भारतमा ६ सय करोड भारतीय रुपैयाँभन्दा बढीको कारोबार गरेको बताइएको छ।
‘स्त्री’ शृंखला म्याडडक फिल्म्सको हरर–कमेडी ब्रह्माण्डको हिस्सा हो। यस ब्रह्माण्डमा ‘भेडिया’, ‘मुन्ज्या’ लगायतका फिल्मसमेत जोडिएका छन्।




Comment