दुई महिनामै ४ खर्बको आयात र ७६ अर्बको निर्यात, व्यापार घाटा ३ खर्ब २४ अर्ब नाघ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा नेपालको आयात ३१.५८ र निर्यात ६१.८६ प्रतिशतले बढेको छ।

भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको साउन र भदौ महिनाको तथ्यांक अनुसार यस अवधिमा ४ खर्ब १ अर्ब ५१ करोड ८९ लाख रूपैयाँ बराबरको वस्तु आयात गरेको छ भने ७६ अर्ब ५८ करोड ७५ लाख ३९ हजार रुपैयाँ वराबरको वस्तु निर्यात गरेको छ।

गत आर्थिक वर्षको पहिलो दुई महिनामा ३ खर्ब ५ अर्ब १५ करोड ५० लाख रूपैयाँको आयात भएको थियो भने ४७ अर्ब ३१ करोड ७६ लाख ६३ हजार रूपैयाँ बराबरको वस्तु निर्यात गरेको थियो ।

भन्सार विभागले बुधबार भदौ मसान्तसम्मको वैदेशिक व्यापारको तथ्यांक सार्वजनिक गरेको हो । यस अवधिमा नेपालको कुल वैदेशिक व्यापार ४ खर्ब ७८ अर्ब १० करोड ६५ लाख रूपैयाँ पुगेको छ। अघिल्लो वर्षको यसै अवधिको तुलनामा मुलुकको वैदेशिक व्यापार ३५.६४ प्रतिशतले बढेको हो।

आर्थिक वर्ष २०८२/८३ को पहलो २ महिनामा नेपालले ३ खर्ब ५२ अर्ब ४७ करोड २७ लाख रूपैयाँ बराबरको वैदेशिक व्यापार गरेको थियो ।

आयातभन्दा निर्यातको वृद्धिदर करिब दोब्बर भएपनि आयातको आकार ठूलो भएकाले व्यापार घाटा झनै चुलिएको छ। पहिलो दुई महिनामा मुलुकको व्यापार घाटा २६.०२ प्रतिशतले बढेर ३ खर्ब २४ अर्ब ९३ करोड १४ लाख रूपैयाँ नाघेको छ।

गत आर्थिक वर्षको सोही अवधिमा व्यापार घाटा २ खर्ब ५७ अर्ब ८३ करोड ७४ लाख रूपैयाँ थियो।

यता कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ८३.९८ प्रतिशत र निर्यातको हिस्सा १६.०२ प्रतिशत पुगेको छ।

आयात र निर्यातको अनुपात पनि घटेको छ। अर्थात नेपालले १ रूपैयाँको निर्यात गर्दा ५ रूपैयाँ २४ पैसा बराबरको आयात गरेको छ। गत वर्ष पहिलो दुई महिनामा १ रूपैयाँको निर्यात बराबर ६ रूपैयाँ ४५ पैसा आयात भएको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।